ad ad

ग्लोबल


अमेरिकामा नेपाली मृत्युको रहस्य नेपालबाट फोन गरेपछि बल्ल खुल्यो

अमेरिकामा नेपाली मृत्युको रहस्य नेपालबाट फोन गरेपछि बल्ल खुल्यो

विजय थापा
बैशाख ५, २०७७ शुक्रबार १०:५९,

अमेरिकाको भर्जिनियाको  रेस्टन शहरमा बसोबास गर्ने सुनिल श्रेष्ठको मृत्यु भएको छ। उनी बस्ने अपार्टमेन्टमै निधन भएको प्रहरीले पुष्टि गरेको हो।

नेपालबाट पत्नीले पटक—पटक फोन गर्दा पतिसँग सम्पर्क हुन नसकेपछि छिमेकी भारतीय महिला क्रिस्टेन धिङ्गललाई फोन गरी आफ्ना पतिबारे सोधखोज गरेकी थिइन्। क्रिस्टेनलाई सुनिलले दिदी मान्दै आएका थिए।

क्रिस्टेन र उनका पतिले सुनिल बस्ने कोठाको ढोकामा रहेको घण्टी बजाए पनि ढोका नखुलेपछि अपार्टमेन्टलाई खबर गरी प्रहरी बोलाइएको थियो।

अपार्टमेन्टमा प्रहरी आएपछि डाक्टर र एम्बुलेन्स कर्मचारीलाई बाहेक अरुलाई भित्र प्रवेश गर्न दिइएको थिएन। उनको मृत्यु के कारणले भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ। मेडिकल जाँचबाट मृत्युको कारण पत्ता लागेपछि परिवार सदस्यलाई जानकारी दिने प्रहरीले जनाएको छ। प्रारम्भिक चिकित्सक जाँचमा उनको मृत्यु करिब १२ घन्टा अगाडि भएको देखिएको छ।

उनी फेनी मे कम्पनीमा कार्यरत थिए। मृतक श्रेष्ठ डिसी फुटबल क्लब (डिसीएफसी) का खेलाडी समेत थिए। तीन दिन अगाडि श्रेष्ठ स्वयंले अपार्टमेन्ट समुदायको बैठक बोलाएका थिए। तर त्यसमा उनी सहभागी भएका थिएनन्। आफैँले आयोजना गरेको बैठकमा सहभागी नभएपछि श्रेष्ठका साथीहरुले खोजी तीब्र पारेका थिए।

फुटबल खेलाडी श्रेष्ठको निधनमा डिसीएफसीका संयोजक चन्द्र लामा तथा उक्त क्लबका टोली प्रमुख विज्ञान श्रेष्ठले गहिरो दुःख व्यक्त गरेका छन्। उनका मामा तेक्वान्दो प्रशिक्षक सन्तोष प्रधान सान फ्रान्सिस्कोमा बसोबास गर्छन्। घटनाबारे उनलाइ जानकारी दिइएको छ।

मेरिल्याण्ड राज्यका नेपाली मूलका राज्य विधानसभा सदस्य ह्यारी भण्डारीले यो दुःखद क्षणमा नेपाली समुदायलाई परेको समस्या समाधान गर्न पहल गरिरहेको बताएका छन्। अमेरिकामा कोरोना भाइरस (कोभिड—१९)बाट प्रभावित र निधन भएका नेपालीलाई सहयोग गर्न उनी क्रियाशील छन्। केही समय अगाडि न्युयोर्कका कोरोनापीडित नेपालीलाई सहयोग गरेर फर्किएका उनले भने, ‘स्वर्गीय श्रेष्ठकी पत्नीको इच्छाअनुसार शव नेपाल पठाउने विषय विकल्प हुनसक्छ। म सक्ने सहयोग गर्नेछु।’

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .