अमेरिकाले बलुच लिबरेसन आर्मी (बीएलए) र यस सम्बद्ध संगठन मजिद ब्रिगेडलाई विदेशी आतंकवादी संगठन (एफटीओ) घोषणा गरेको छ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले सोमबार अबेर राति उक्त जानकारी दिएका हुन्।
रुबियोले विज्ञप्तिमा लेखेका छन्, ‘बीएलएले २०२४ मा कराँची विमानस्थलनजिकै र ग्वादर बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आत्मघाती हमलाको जिम्मेवारी लिएको थियो। यसले मार्च २०२५ मा जाफर एक्सप्रेस रेल अपहरणको जिम्मेवारी पनि लिएको थियो, जसमा ३१ नागरिक र सुरक्षाकर्मी मारिएका थिए। ३०० भन्दा बढी यात्रुलाई बन्धक बनाइएको थियो।’
रुबियोले भनेका छन्, ‘आज अमेरिकी विदेश विभागले गरेको कारबाहीले आतंकवादसँग लड्ने ट्रम्प प्रशासनको प्रतिबद्धता झल्काउँछ। आतंकवादी संगठन घोषणा गर्नुले आतंकवादविरुद्धको हाम्रो लडाइँमा महत्त्वपूर्ण भूमिका खेल्छ। यो आतंकवादी गतिविधिको समर्थन रोक्ने प्रभावकारी तरिका हो।’

अमेरिकाले यो घोषणा पाकिस्तानी सेना प्रमुख असिम मुनिर अमेरिकाकै भ्रमणमा रहेका बेला गरेको हो।
पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार, मुनिर फेरि एकपटक अमेरिका पुगेका छन्। डेढ महिनामा मुनिरले दोस्रोपटक अमेरिका भ्रमण गरेका हुन्।
बलुच लिबरेसन आर्मी (बीएलए) पाकिस्तानको बलुचिस्तान प्रान्तको स्वतन्त्रताका लागि लडिरहेको संगठन हो। यो २००० को दशकको सुरुमा स्थापना भएको थियो र यसअघि यसलाई धेरै देशले आतंकवादी संगठन घोषणा गरिसकेका छन्।
Shares

प्रतिक्रिया