अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले 'बहादुरीपूर्वक लडेको' बताएका छन्।
बीबीसीका अनुसार नेटो बैठकका क्रममा ट्रम्पलाई सोधिएको थियो- इरानविरुद्धको प्रतिबन्ध हटाउने विचारमा हुनुहुन्छ कि?
जवाफमा उनले भने, ‘उनीहरूले (इरान) भर्खरै युद्धको सामना गरेका छन् र उनीहरूले बहादुरीपूर्वक लडेका छन्।’
‘यदि उनीहरू तेल बेच्न चाहन्छन् भने बेच्न सक्छन्। देश पुनर्निर्माण गर्न उनीहरूलाई पैसा चाहिन्छ।’
ट्रम्पले चीनले इरानबाट तेल किन्न सक्ने पनि बताए।
ट्रम्पले अर्को हप्ता इरान र अमेरिकाबीच वार्ता हुने पनि बताएका छन्।
उनले भने, ‘हामी सम्झौता गर्न सक्छौँ। मलाई अहिले थाहा छैन। यो आवश्यक पनि छैन। उनीहरूले भर्खरै युद्ध लडेका छन् र उनीहरू (इरान) आफ्नो संसारमा फर्किएका छन्।’
‘मैले भनेँ कि इरानसँग आणविक हतियार हुन सक्दैन। तिनीहरू नष्ट भएका छन्। हामीले तिनीहरूलाई नष्ट गरेका छौँ।’
अमेरिकाले गत शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो।
तर इरानको आणविक प्रतिष्ठानमा आक्रमणबारे पेन्टागनबाट चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्यांकन रिपोर्टले इरानको आणविक कार्यक्रम नष्ट नभएको र यो केवल 'केही महिनाको लागि' पछि धकेलिको दाबी गरेको छ।
तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे भनेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन्।’
इरानले पनि बदलास्वरूप गत सोमबार कतारस्थित अमेरिकी सैन्य अड्डाहरूमा क्षेप्यास्त्र हानेको थियो। तर कुनै हताहत भएन।
Shares

प्रतिक्रिया