इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार कतारस्थित अमेरिकी सैन्य अड्डाहरूमा गरिएको आक्रमण र कतारबीच कुनै सम्बन्ध नभएको बताएका छन्।
मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरानको कारबाही केवल 'आत्मरक्षाको कदम' भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘इरान कतार र अन्य छिमेकी देशहरूसँगको सम्बन्धमा आफ्नो असल छिमेकी नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध छ।’
उनले अगाडि लेखेका छन्, ‘हामी प्रतिज्ञा गर्छौं कि इरानविरुद्ध अमेरिकी/इजरायली आपराधिक आक्रामकता र दुर्भावनापूर्ण नीतिका कारण हामी र यस क्षेत्रका भातृ देशहरूबीच फाटो ल्याउन दिने छैनौँ।’
उता कतारले भने सोमबार इरानले अमेरिकी सैन्य अड्डाहरूमा गरेको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसंघका महासचिवलाई पत्र लेखेको छ।
सोमबार इरानले अमेरिकाको दोहा एयरबेसमा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको तर तीमध्ये १८ वटालाई रोकिएको कतारले बताएको छ। एउटा मात्र क्षेप्यास्त्र मात्र खसेको तर यसले कुनै क्षति नभएको कतारको भनाइ छ।
Shares

प्रतिक्रिया