ग्लोबल


इरानविरुद्ध अमेरिकाको ‘अपरेसन मिडनाइट ह्यामर’, यसरी गरियो ‘सुटुक्क’ आक्रमण

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन मिडनाइट ह्यामर’, यसरी गरियो ‘सुटुक्क’ आक्रमण

फाइल तस्बिर: बी-२ बमवर्षक विमान


नेपालखबर
असार ९, २०८२ सोमबार ७:१०, काठमाडौँ

आइतबार राति अमेरिकाका रक्षा सचिव पिट हेग्सेथ र संयुक्त प्रमुख कर्मचारी जनरल डान केनले इरानविरुद्ध शनिबार राति आफ्नो देशले गरेको आक्रमणबारे विस्तृत जानकारी दिएका छन्।

पिट हेग्सेथ र जनरल डान केनले पत्रकार सम्मेलनमा इरानमा अमेरिकाले गरेको हमलालाई 'अपरेसन मिडनाइट ह्यामर' नाम दिए।

उनीहरूले यो आक्रमण कसरी गरियो र यसमा कति विमान संलग्न थिए भन्ने विषयमा बताए। अनि यो अभियानको उद्देश्यबारे पनि जानकारी दिए।

इरानका आणविक अड्डामा कसरी गरियो आक्रमण?
आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकाका रक्षा सचिव पिट हेग्सेथले आक्रमणमा बी-२ बमवर्षक र विशाल अर्डनेन्स पेनिट्रेटर (एमओपी, जसलाई बंकर बस्टर पनि भनिन्छ) कसरी प्रयोग गरियो भनेर बताए।

उनले भने, ‘अमेरिकाका बी-२ स्टिल्थ बमवर्षक विमानहरू इरानमा प्रवेश गरे, आणविक अड्डाहरूमा आक्रमण गरे र फर्किए। र, संसारले यसको संकेत पनि पाएन।’

हेगसेथले थपे, ‘यस आक्रमणमा २००१ पछिको सबैभन्दा लामो बी-२ स्पिरिट बमवर्षक उडान पनि थियो र पहिलोपटक एमओपी अर्थात् विशाल अर्डनेन्स पेनिट्रेटर प्रयोग गरिएको थियो।’

यस्तै संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान केनले 'अपरेसन मिडनाइट ह्यामर' मा १२५ अमेरिकी विमान संलग्न रहेको बताए। जसमा बी-२ स्टिल्थ बमवर्षक सातवटा थिए।

केनका अनुसार अपरेसनमा लगभग ७५ 'प्रिसिजन टार्गेटिङ हतियार' प्रयोग गरिएको थियो, जसमा १४ विशाल अर्डनेन्स पेनिट्रेटर पनि थिए।

अमेरिकाको संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान केनले केही विमानहरू अमेरिकाबाट उडेका थिए र १८ घण्टाको यात्रापछि आफ्नो लक्ष्यमा पुगेका थिए। केहीलाई भने ‘ध्यान मोड्न’ प्रशान्त महासागरतिर पठाइएको थियो।

केनका अनुसार तीनवटा अड्डालाई इस्टर्न टाइम आइतबार बिहान ६:४० र ७:०५ बजेबीच लक्ष्य गरिएको थियो।

केनले अगाडि भने, ‘यस्तो लाग्छ- इरानको सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली हामीले देख्न सकेनौँ।’

जनरल डान केनले सात बी-२ बमवर्षक इरानका तीन आणविक आधारमा आक्रमण गर्न अगाडि बढे। इरानको हवाई क्षेत्रमा प्रवेश गर्नुअघि अमेरिकी पनडुब्बीले इस्फहानमा दुई दर्जन टोमाहक क्षेप्यास्त्र प्रहार गर्‍यो।

बी-२ बमवर्षकहरूले फोर्डोमा दुई ठूला जीबीयू-५७ एमओपी बम खसाले। केनका अनुसार दुई आधारमा कुल १४ एमओपी खसालिएका थिए।

उनले भने, ‘यस मिसनका क्रममा जब अमेरिकी सैन्य विमान त्यहाँबाट जाँदै थिए, तिनीहरूमाथि कुनै गोलाबारी भएको जानकारी थिएन।’

उनका अनुसार ‘यस योजनाबारे केही योजनाकार र प्रमुख अधिकारीहरूलाई मात्र जानकारी दिइएको थियो।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad