ग्लोबल


हत्या हुने त्रासमा खामेनी, चुने सम्भावित उत्तराधिकारी

हत्या हुने त्रासमा खामेनी, चुने सम्भावित उत्तराधिकारी

नेपालखबर
असार ९, २०८२ सोमबार १४:२७, काठमाडौँ

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले हत्याको डरले सबै इलेक्ट्रोनिक सञ्चार बन्द गरेका छन्।

उनी हाल आफ्नो ‘विश्वसनीय सहयोगी’मार्फत इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का शीर्ष सैन्य कमान्डरहरूसँग कुरा गरिरहेका छन्।

यो दाबी न्युयोर्क टाइम्सले तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै गरेको हो। 

इजरायलले पहिले नै खामेनी पनि बाँकी नरहने धम्की दिइसकेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले खामेनीलाई यो सम्पूर्ण द्वन्द्वको जड ठानेका छन्। 

अर्कातर्फ अमेरिकाले पनि खामेनीलाई खोजिरहेको छ। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको दुई दिनअघि भनेका थिए, ‘हामीलाई थाहा छ- इरानका सर्वोच्च नेता कहाँ लुकेका छन्। तर हामी अहिले नै उनलाई मार्दैनाौँ। ’

खामेनी हत्याको डरले अत्यन्तै सुरक्षित बंकरमा लुकिरहेको रिपोर्ट पनि आइरहेको छ। 

न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा खामेनीले आफ्नो हत्या हुने आशंकामा तीन वरिष्ठ धर्मगुरुलाई आफ्नो उत्तराधिकारीका रूपमा नाम दिएको उल्लेख गरेको छ। 

तीमध्ये एक जनालाई आफ्नो उत्तराधिकारी बनाउन सर्वोच्च नेता नियुक्त गर्ने जिम्मेवारी पाएको इरानको विशेषज्ञहरूको सभालाई उनले निर्देशन दिएका छन्। 

द न्युयोर्क टाइम्सका अनुसार, खामेनीले सम्भावित उत्तराधिकारीका लागि अलिरेजा अराफी अली असगर हेजाजी, हासिम हुसैनी बुसेहरी र अली अकबर बेलायतीको नाम दिएका हुन्। 

यसैबीच सम्भावित उत्तराधिकारीमा यसअघि चर्चामा आएका खामेनीका छोरा मोजतबाको नाम भने यो सूचीमा परेको छैन।

मोजतबा एक धर्मगुरु हुन् भने इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्ससँग नजिक छन्। यसअघि उनैलाई खामेनीको उत्तराधिकारी मानिन्थ्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad