ग्लोबल


इजरायलले बम हानिरहेका बेला गद्दीमा फर्किने कोसिसमा इरानका पूर्वयुवराज

पह्लवीले गरे विद्रोहको आह्वान, सुनेनन् कसैले
इजरायलले बम हानिरहेका बेला गद्दीमा फर्किने कोसिसमा इरानका पूर्वयुवराज

नेपालखबर
असार ६, २०८२ शुक्रबार १६:४३,

इरानका अन्तिम शाहका जेठा छोरा रेजा पह्लवी दशकौँदेखि निर्वासनमा छन्। इरानको सत्तामा कुनै कमजोरी देखिए त्यसको फाइदा उठाउने ताकमा उनी छन्।

प्रायः उनी किनारामा रहे। १९७९ मा कट्टर धार्मिक नेताहरूले इरानको सत्ता कब्जा गरेपछि त्यसविरुद्ध संगठित प्रतिरोध गर्न नसकेको र भरपर्दो पनि बन्न नसकेको भन्दै उनको आलोचना हुने गरेको थियो।

तर, यतिबेला इजरायली बम इरानमा बर्सिरहँदा र इरानी सत्ता अस्तित्वको संकटमा रहँदा पह्लवीले आफ्नो समय आएको महसुस गरेका छन्।

‘यत्तिका वर्षमा पहिलोपटक परिवर्तनको अवसर देखिएको छ,’ उनले भनेका छन्।

इजरायली आक्रमण सुरु हुनेबित्तिकै उनले इरानीहरूलाई सत्ताविरुद्ध विद्रोहको आह्वान गरे। तर, अहिलेसम्म उनको आह्वानलाई कसैले सुनेको देखिँदैन।

बरु इरानीहरूमा आफ्नो शासकप्रति रहेको वितृष्णा अस्तित्वको संकटले छोपिदिएको छ, उनीहरू इजरायलप्रति क्रुद्ध बनेका छन्।

‘तपाईं सत्ता पक्षधर वा विरोधी जे भए पनि यतिबेला इरानमा इजरायलविरोधी भावना बलियो भएको छ,’ जोन्स हप्किन्स स्कुल अफ एड्भान्स्ड इन्टरनेसनल स्टडिजका प्राध्यपाक भाली नासिर भन्छन्, ‘थुप्रै नागरिक इस्लामिक शासन ढलोस् भन्ने चाहन्छन् तर आक्रमणबाट उनीहरू खुसी छैनन्। आफ्नो जीवन नष्ट भएको हेर्न उनीहरू चाहँदैनन्। त्यसैले सत्ताविरुद्ध विद्रोहमा यतिबेला उनीहरूलाई चासो छैन। त्यो उनीहरूको मुद्दा होइन।’

पह्लवीले १९७८ मा १७ वर्षको उमेरमा इरान छाडेका थिए। अमेरिकामा पढ्न भनेर हिँडेका उनी त्यसयता इरान फर्केका छैनन्। अहिले इस्लामिक शासन ढलेमा देशको संक्रमणकालीन नेताका रूपमा उनले आफूलाई पेस गरेका छन्।

तर, इरान मामिलाका जानकारहरू उनीप्रति सन्देह गर्छन्।

विश्लेषकहरूका अनुसार इरानमा उनका केही समर्थक छन्। तर, तिनको संख्या ज्यादा नभएको उनीहरूको भनाइ छ। इरानी सत्ताविरुद्धका यसअघिका सडक आन्दोलन र सशस्त्र संघर्षहरू बहुसंख्यकको समर्थन पाउन सकेका छैनन्।

‘अमेरिकी सेना नओराली क्रान्ति गर्न वा सत्ता पल्टाउन तपाईंसँग चमत्कारी व्यक्तित्व, संगठन र इरानभित्र तपाईंका लागि लड्ने मान्छे चाहिन्छ,’ लेखक मोहसिन मिलानी भन्छन्, ‘त्यो मैले देखेको छैन।’

२०२३ मा इजरायल गएर पह्लवीले बेन्यामिन नेतन्याहुलाई भेटेका थिए। त्यसैले उनलाई देशद्रोहीका रूपमा हेरिने खतरा पनि रहेको विश्लेषकहरूको भनाइ छ।

पह्लवी भने आफू नभई खामेनी चाहिँ देशद्रोही भएको आरोप लगाउँछन्।

अमेरिका र इजरायलको आक्रमणले इरान पराजित भयो र उनीहरूले पह्लवीलाई सत्तामा बसाउन चाहे भने पनि उनका लागि सहज नरहेको अमेरिकामा बस्ने इरानी प्राज्ञ मेहरजाद बोरोजर्दी बताउँछन्।

‘थुप्रैले उनलाई इजरायल र अमेरिकाको कठपुतली ठान्ने छन्,’ उनी भन्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad