भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले आतंकवादलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन्।
सोमबार राति राष्ट्रलाई सम्बोधन गर्दै मोदीले पाकिस्तानी सरकार र सेनाले आतंककारीलाई साथ दिइरहेको आरोप लगाएका हुन्।
‘जसरी पाकिस्तानी सेना र सरकारले आतंकवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै ध्वस्त पार्नेछ उनले भने, यदि पाकिस्तान बाँच्न चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई ध्वस्त पार्नुपर्नेछ। यसबाहेक शान्तिको अर्को कुनै बाटो छैन।’
यस्तै उनले आतंक र वार्ता एकसाथ हुन नसक्ने चेतावनी पनि दिए।
मोदीले भने, ‘भारतको विचार एकदमै स्पष्ट छ, आतंक र वार्ता एकसाथ हुन सक्दैन। आतंक र व्यापार एकसाथ हुन सक्दैन। पानी र रगत पनि एकसाथ बग्न सक्दैन।’
गत अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना मारिएपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्दै पानी रोकेको थियो।
साथै भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ नाम दिएर सैन्य कारबाही थालेको थियो। त्यसपछि पाकिस्तानले पनि शनिबार (मे १०) भारतविरुद्ध ‘अपरेसन बुन्यान-अन-मार्सुस’ घोषणा गरेको थियो।
तर अमेरिकालगायत देशको मध्यस्थतामा त्यही दिन साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको भनिएको थियो।
त्यसपछि मोदीले सोमबार पहिलोपटक राष्ट्रलाई सम्बोधन गरेका हुन्।
Shares

प्रतिक्रिया