जम्मु-कश्मीरको पहलगाममा आतंककारीहररूले अप्रिल २२ मा २६ जनालाई गोली हानेर मारेको बदलामा गएराति भारतले पाकिस्तानमा हवाई हमला गरेको छ।
जसलाई भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएको छ। यस्तो नाम किन दिइयो?
सञ्चारमाध्यमका अनुसार पहलगाममा मारिएका २६ जना नै पुरुष थिए भने अधिकांश हिन्दु थिए।
उनीहरू मारिएपछि तिनका श्रीमतीको सिन्दूर पुछिएको अर्थमा भारतले उक्त हमलाको नाम ‘अपरेसन सिन्दूर’ राखेको हो।
त्यसो त उक्त हमलामा ७ दिनअघि मात्र बिहे गरेकी श्रीमती लिएर घुम्न गएका भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवाल पनि मारिएका थिए।
उनकी पत्नी हिमांशी नरवालले आफ्नै आँखाअगाडि पति मारिएको दर्दनाक दृश्य हेर्नुपरेको थियो।
उक्त आक्रमणमा बुटवलवासी नेपाली सुदीप न्यौपाने पनि मारिएका थिए।
पहलागाममा भएको आतंककारी हमलामा पाकिस्तानलाई दोष दिइरहेको भारतले घटनाको १५ दिनपछि मंगलबार मध्यराति पाकिस्तानी क्षेत्रमा हवाई आक्रमण गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणबारे भारतीय सेनाले आज बुधबार बिहान १०:३० बजे पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा सबैभन्दा पहिले हवाई आक्रमणको २ मिनेटको भिडिओ प्ले गरियो। जसमा आतंककारी लुकेका ठाउँहरूमा भारतीय सेनाले कारबाही देखाइएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्।
उता पाकिस्तानले भने जवाफमा आफ्ना सेनाले पनि भारतका पाँचवटा लडाकु विमान खसालिदिएको दाबी गरेको छ।
Shares

प्रतिक्रिया