भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने उत्तरकाशी जिल्लामा आज बिहीबार बिहान तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
दि टाइम्स अफ इन्डियाका अनुसार चारधाम तीर्थयात्री बोकेको हेलिकप्टर उत्तरकाशी जिल्लाको गंगोत्री मार्गमा रहेको गंगानीनजिकै दुर्घटना भएको हो।
दुर्घटनामा पाइलट क्याप्टेन रोबिन सिंहको पनि मृत्यु भएको छ। घाइते यात्रुलाई उपचारका लागि एम्स ऋषिकेश लगिएको छ। हेलिकप्टर एरो ट्रान्स सर्भिस प्रालिले सञ्चालन गरिरहेको थियो।
मृतक चारमध्ये मुम्बईका र दुई आन्ध्र प्रदेशका बासिन्दा थिए।
बिहीबार बिहान देहरादुनको सहस्त्रधाराबाट उडान भरेको एरोट्रान्स सर्भिसेज प्रालिको हेलिकप्टर (भीटी-क्यूएक्सएफ) ले यात्रुहरूको एक समूहलाई खरसाली हेलिप्याडमा ओरालेको थियो।
यसको केही समयपछि हेलिकप्टरले यात्रुहरूको नयाँ समूह लिएर खरसालीबाट हर्षिल हेलिप्याडको लागि उडान भरेको थियो।
यस क्रममा भारतीय समयानुसार बिहीबार बिहान ८:४० बजेतिर गंगानानी नागराज मन्दिरनजिकै हेलिकप्टर दुर्घटना भएको हो।
दुर्घटनाको वास्तविक कारण अझै थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन्।
दुर्घटनास्थल गाउँनजिकैको पहाडबाट २००-२५० मिटर तल खोल्सामा छ।
दुर्घटनामा मुम्बईका तीन तीर्थयात्री- काला सोनी (६१), विजया रेड्डी (५७) र रुचि अग्रवाल (५६) तथा उत्तर प्रदेशकी राधा अग्रवाल (७९) र आन्ध्र प्रदेशकी वेदवती कुमारी (४८) को मृत्यु भएको हो। यसैगरी दुर्घटनामा गुजरात निवासी पाइलट क्याप्टेन रोबिन सिंह (६०) को पनि मृत्यु भएको छ।
अनि आन्ध्र प्रदेशका भास्कर (५१) घाइते भएका छन्।
Shares

प्रतिक्रिया