समाज


जम्मु-कश्मीर घुम्न गएकामा पश्चातापमा सुदीपको परिवार

जम्मु-कश्मीर घुम्न गएकामा पश्चातापमा सुदीपको परिवार

पहलगाम आक्रमणअघि सुदीप (बायाँ) आमा रीना पाण्डेले काँधमा हात राखेकी छन्। अनि छेउमा उनका भिनाजुी युवराज काफ्ले जसको काँधमा उनकी दिदी सुष्माले हात राखेकी छन्। तस्बिर : बीबीसी हिन्दी


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १६:४७, काठमाडौँ

२०८२ वैशाख ९ (सन् २०२५ अप्रिल २२) मा भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमला एक नेपाली परिवारका लागि पनि जीवनमा नमेटिने घाउ बनेको छ।

त्यस दिन आतंककारीको गोलीबाट अन्य २५ पर्यटकसँगै रुपन्देहीको बुटवल उपमहानगरपालिका-१४ निवासी सुदीप न्यौपाने पनि मारिए। 

उनीसँगै पहलगाम घुम्न गएका थिए- बुटवलका युवराज काफ्ले। सुदीप उनका साला थिए। साथमा युवराजका श्रीमती सुष्मा काफ्ले, सासू रीना पाण्डे (सुदीपकी आमा) पनि थिए। आफ्नो समूहमा लगभग २० जना रहेको युवराजले बताएका छन्। 

यसैबीच उनले त्यस दिनको दु:खान्त बीबीसी हिन्दीलाई विस्तृत रूपमा सुनाएका छन्।  

‘जम्मु-कश्मीरको पहलगामजस्तो सुन्दर क्षेत्र नेपालमा छैन भन्ने होइन।’

आँखाभरि आँशु पार्दै यसो भन्दा युवराज काफ्लेमा गहिरो पश्चाताप झल्कियो। 

परिवारसहित उनी घटनाको अघिल्लो दिन अप्रिल २१ मा जम्मु-कश्मीरको श्रीनगर पुगेका थिए र २२ अप्रिलमा पहलगाम। 

युवराज भन्छन्, ‘गोली चलेको आवाज सुनिएपछि स्थानीय बासिन्दाले भने कि जंगली जनावर तर्साउन यसो गर्छन्। तर गोली चलेको आवाज नजिकै सुनिएको थियो। त्यसपछि एक नकाबधारी हतियारधारी हाम्रो अगाडि थियो। उसले हिन्दुहरू एकातिर र मुस्लिमहरू अर्कातिर जानुपर्ने धम्की दियो।’

‘स्थानीय मानिसहरूले के हुन लागेको छ भनेर बुझे। उनीहरूले चुपचाप हामीलाई घुँडा टेकेर अल्लाहको नाम लिन भने। म मुस्लिमहरूको लाइनमा गएँ र त्यसै गरेँ र मेरो ज्यान बच्यो।’

तर सुदीपले आफूलाई मुस्लिम भन्न मानेनन्।

युवराज सुनाउँछन्, ‘सुदीपले झुट बोलेनन् र उनले हिन्दुकै लाइन पछ्याए। सुदीपभन्दा पहिले तीन जनालाई गोली हानेर मारिएको थियो। उनले आफूलाई नेपाली भनिरहे तर हिन्दु हुनु महँगो साबित भयो। सुदीप हिन्दु भएका कारण मारिए।’

बुटवलमा अमृत ​​भुसालको डेन्टल क्लिनिकमा काम गर्ने सुदीपले हम्मेसि बिदा पाउँदैनथे। तर त्यस दिन आफूहरूकै विशेष अनुरोधमा उनले कुनै उपायले बिदा मिलाएको उनले बताएका छन्। 

पश्चाताप मान्दै युवराजले भनेका छन्, ‘हामीले उनलाई नल्याएको भए हुन्थ्यो।’

पाकिस्तान र भारत कश्मीरका लागि एकअर्कासँग लडिरहेका छन्। यो दुई देशबीचको युद्ध भएको उल्लेख गर्दै युवराजले प्रश्न गरेका छन्, तर हामी तेस्रो देशका पर्यटक थियौँ। तपाईंले हामीलाई किन मार्नुभयो?’

यस क्रममा उनले नेपालमा हिन्दु र मुस्लिमबीच कहिले वैमनस्य नभएको पनि बताएका छन्। 

उनले बीबीसी हिन्दीसँग भनेका छन्, ‘हाम्रो बुटवल सहरमा बाक्लो संख्यामा मुस्लिम हुनुहुन्छ तर दुई समुदायबीच कहिल्यै घृणा भएको छैन।’

युवराज काफ्लेले यी कुरा भनिरहँदा उनका श्रीमती सुष्मा र सासू रीना पाण्डे रोइरहेका थिए। 

सुदीपकी आमाका लागि छोराको मृत्यु अर्को वज्रपात बनेको छ। किनभने उनी जन्मेपछि रीना पाण्डेको श्रीमान् ध्रुव न्युपानेसँग सम्बन्ध विच्छेद भएको थियो। सुदीप एक्ला छोरा थिए।

रीनाले भनेकी छन्, ‘मैले आतंककारीहरूलाई मलाई पनि गोली हान्न भनेकी थिएँ। अब म बाँच्नुको कुनै अर्थ छैन। मैले मेरो छोरा आँखैअगाडि मारिएको देखेँ।...मेरो छोराले आफू नेपाली भएको भनिरह्यो। हो, उसले झुटो बोलेन कि ऊ मुस्लिम हो। मेरो छोरा हिन्दु भएका कारण मारिएको थियो। भारत सरकारले हिन्दुहरूलाई प्रदान गरिरहेको सुरक्षा यही हो? मेरो एउटा मात्र छोरा थियो, अब मेरो हेरचाह कसले गर्छ?’

बुटवल निवासी भारतीय सेनाका पूर्वसुबेदार कुलबहादुर केसीले सुदीपले पहलगाममा गोर्खाको बहादुरी देखाएको बताए। 

उनले भनेका छन्, ‘उनलाई थाहा थियो कि आफू हिन्दु हुँ भन्नु घातक हुनेछ तर पनि उनले झुट बोलेनन्। बरु  उनले आफ्नो ज्यान गुमाउनु नै राम्रो ठाने। उनी हामीबीच भएको भए राम्रो हुन्थ्यो, तर हामी उनको साहसलाई सलाम गर्छौं।’

कुलबहादुर केसीका अनुसार बुटवलका मुस्लिमले सुदीप हत्याको कडा निन्दा गरेका छन्। मस्जिदका इमामले सन्देश पनि जारी गरेका थिए। 

यसैबीच सुदीपकी दिदी सुष्माले आफ्ना भाइलाई सहिद घोषणा गर्न भारत सरकारसँग माग गरेकी छन्।

पहलगाममा मारिनुभन्दा एक घण्टाअघि सुदीपले आफ्नो परिवारसँग कास्मिरी पहिरन लगाएको फोटो खिचाएका थिए। जुन तस्बिर हेरेर उनकी रुन्छिन्।

कास्मिरी भेषमा सुदीप न्यौपाने। तस्बिर : बीबीसी हिन्दी

परिवाका अनुसार सुदीप बाँचेका भए यसै वर्ष विवाह गर्ने तयारीमा थिए। सुदीप एक केटीसँग प्रेम सम्बन्धमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad