पाकिस्तानको राष्ट्रिय वायुसेवा कम्पनी 'पाकिस्तान इन्टरनेसनल एअरलाइन्स' (पीआईए) को आर्थिक अवस्था खासै राम्रो छैन।
त्यसमाथि दक्षिण एसियामा बढ्दो तनाव, निजीकरणको असफल प्रयास र वित्तीय कठिनाइले समस्या अझ बढाएको छ।
जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध केही कडा कदम चालेको छ।
बदलामा पाकिस्तानले पनि भारतविरुद्ध केही निर्णय गरेको छ।
तीमध्ये एक हो- भारतीय विमान कम्पनीका लागि पाकिस्तानी हवाई क्षेत्र बन्द। यसको अर्थ अब भारतीय विमान अन्य देश जाँदा पाकिस्तानमाथि भएर उड्न पाउने छैनन्।
यसपछि भारतले पनि हालै पाकिस्तानबाट आउने विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ।
भारतीय हवाई क्षेत्र बन्द हुँदा पर्ने कठिनाइ

यो दुई देशबीचको कूटनीतिक युद्ध हुन सक्छ, तर यसले पाकिस्तान इन्टरनेसनल एअरलाइन्समा गहिरो आर्थिक प्रभाव पार्नेछ।
पाकिस्तानी उड्डयन अर्थशास्त्री तथा टेलविन्ड एभिएसन प्राइभेट लिमिटेडका प्रमुख मोहम्मद अफसर मलिक भन्छन्, ‘भारतले लगाएको यो प्रतिबन्धपछि पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले चीनबाट आफ्ना उडान डाइभर्ट गर्नुपर्नेछ। यसले विमानको यात्रा समय बढाउनेछ र इस्लामाबाद र बैंककजस्ता रुट मोड्नु घाटाको सम्झौता हुनेछ।’
अन्तर्राष्ट्रिय हवाई यातायात संघ वा आईएटीएको तालिका तथ्यांकअनुसार मलेसिया र दक्षिण कोरियाको उडानमा यसको प्रभाव तुलनात्मक रूपमा कम हुन सक्छ, तर राजस्व र रसदमा यसको प्रभाव उल्लेखनीय हुनेछ।
हप्तामा केवल ६ देखि ८ वटा यस्ता उडान हुनेछन्।
पाकिस्तानबाट उडानको रुट परिवर्तन गर्दा यात्रा समय थपिने मात्र होइन, एअरलाइन्सको सञ्चालन लागत पनि बढ्ने छ।

त्यसो त पाकिस्तान इन्टरनेसनल एअरलाइन्सलाई हवाई क्षेत्र प्रतिबन्धले आर्थिक कठिनाइ निम्त्याएको यो पहिलोपटक होइन।
सन् २०१९ मा भारतले पाकिस्तानको बालाकोटमा आक्रमण गर्दा पनि उसले भारतीय विमानलाई आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो।
सेन्टर फर एअर पावर स्टडिजका ग्रुप क्याप्टेन (सेवानिवृत्त) र सिनियर फेलो प्रोफेसर डा. दिनेश कुमार पाण्डे भन्छन्, ‘पछिल्लोपटक पाकिस्तानले भारतीय एअरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दा ४५ देखि ५० मिलियन डलरको नोक्सान भएको थियो।"
‘यस्तो किन भयो भने नियमअनुसार, जब कुनै अन्तर्राष्ट्रिय उडान आफ्नो गन्तव्यमा पुग्न अर्को देशबाट जान्छ, त्यसबापत त्यो देशलाई शुल्क तिर्नुपर्छ। यसलाई ओभरफ्लाइट शुल्क भनिन्छ।’
‘पाकिस्तानी हवाई क्षेत्र बन्द भएका कारण भारतबाट आउने उडानहरूबाट पाउने शुल्क बन्द भयो। यसपटक पनि पाकिस्तानले उही कदम चालेको छ।’
तर यो हवाई क्षेत्र विवाद पाकिस्तान इन्टरनेसनल एअरलाइन्सले सामना गरिरहेको संकटको एउटा पक्ष मात्र हो।
बिजिनेस मोडलमा प्रश्न

पाकिस्तान इन्टरनेसनल एअरलाइन्स लामो समयदेखि सरकारी सहयोगमा निर्भर छ। ऋण बढ्दै गइरहेको छ भने यसका विमान पनि पुरानो हुँदै गइरहेका छन्। त्यसैले उड्डयन बजारमा यसको प्रतिस्पर्धा गर्ने क्षमता घटेको छ।
मोहम्मद अफसर मलिकले भने, ‘सरकारी एअरलाइन्सहरूले खुला बजारमा सायदै राम्रो प्रदर्शन गर्छन्। सामान्यतया तिनको कार्यसम्पादनले अक्षमता झल्काउँछ। तिनीहरूसँग आवश्यकताभन्दा बढी कर्मचारी छन् र निजी एयरलाइन्सहरूले काम गर्ने जिम्मेवारी हराउँदै गएको छ।’
सन् २०२३ मा पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको बोइङ ७७७ मलेसियामा जफत भएपछि यसको विश्वसनीयतामा धक्का लाग्यो।
वास्तवमा त्यस्तो बक्यौता नतिरेका कारण गरिएको थियो। उक्त घटनाका बेला पाकिस्तानको सरकारी स्वामित्वमा रहेको कम्पनी पाकिस्तान स्टेट आयल (पीएसओ) ले एअरलाइनलाई इन्धन आपूर्ति बन्द गरेको थियो। जसका कारण धेरै उडान बन्द भएका थिए।
डिसेम्बर २०२४ मा ३४ वटा पाकिस्तान इन्टरनेसनल एअरलाइन्सका विमान ग्राउन्डेड भएको खबर सार्वजनिक भएको थियो। कारण उडानका लागि आवश्यक उपकरण थिएनन्।
निजीकरणमा सकस

पाकिस्तानको अर्थतन्त्र लामो समयदेखि संकटमा छ। यसले सहयोगका लागि अन्तर्राष्ट्रिय सहयोगको याचना गरेपछि ७ अर्ब डलरको उद्धार प्याकेज पायो। यसका लागि राखिएको एउटा सर्त थियो- पाकिस्तान इन्टरनेसनल एअरलाइन्सलगायत घाटामा रहेका कम्पनीहरू बेचिनेछन्।
त्यसैले गत वर्ष अक्टोबरमा पाकिस्तान सरकारले निजी कम्पनीहरूलाई सरकारी एअरलाइन्सका लागि बोली लगाउन भन्यो।
तर यसमा धेरै उत्साह थिएन। पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको ६० प्रतिशत सेयर बिक्रीका लागि ३०० मिलियन डलर (पाकिस्तानी रुपैयाँ ८५ अर्ब) को आधार मूल्य तय गरिएको थियो।
तर यसका लागि एउटा मात्र कम्पनी अगाडि आयो- रियल इस्टेट कम्पनी ब्लू वर्ल्ड सिटी। उसले केवल ३.६० करोड प्रस्ताव गर्यो।
यति थोरै रकमको प्रस्ताव अस्वीकार गरियो। उद्योग विज्ञहरूले संरचनात्मक समस्याका कारण लगानीकर्ताहरूले यसबाट टाढा रहनु नै राम्रो ठानेको बताएका थिए।
मलिकले भने, ‘यदि पाकिस्तान सरकारको एअरलाइन्समा ४० प्रतिशत हिस्सा र बोर्डमा नियन्त्रण भएको भए, यसलाई खरिद गर्ने निजी कम्पनीहरूले नोकरशाहीका कारण निरन्तर ढिलाइको सामना गर्नुपर्थ्यो। द्रुत गतिमा चलिरहेको उड्डयन उद्योगलाई यसमा सम्झौता गर्न गाह्रो छ।’
कर्मचारीहरूको सम्भावित कटौतीविरुद्धको राजनीतिक विरोध र प्रदर्शनले लगानीकर्ताको विश्वासलाई अझ कमजोर बनायो।
आशाको किरण

तर पाकिस्तान सरकारले अचानक पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको ऋण पुनर्संरचना गर्ने र घाटामा रहेको अवस्थाबाट बाहिर निकाल्ने निर्णय गर्यो।
त्यसैले यो दुई दशकमा पहिलोपटक नाफामा रहेको देखाइएको थियो। एअरलाइन्सले आर्थिक वर्ष २०२४ मा ९.३ अर्ब पाकिस्तानी रुपैयाँको सञ्चालन नाफा देखाएको छ।
यसपछि पाकिस्तानका उड्डयन तथा रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अन्ततः २१ वर्षपछि २०२४ मा , एयरलाइन्स फाइदामा गएको छ।’
एयरलाइन्सले यो कुरा पुष्टि गरेको थियो।
यद्यपि, एयरलाइन्सको वित्तीय अवस्थामा आएको सुधार स्वागतयोग्य थियो। तर विज्ञहरू एयरलाइन्सहरूलाई यो अवस्था कायम राख्न गाह्रो हुने बताउँछन्।
निजीकरणको प्रक्रिया अझै खुला छ। अर्को बोली २०२५ जुन ३ सम्ममा राखिनेछ। यो समयसीमा एयरलाइन्सको भविष्यका लागि निकै महत्त्वपूर्ण छ।
मलिक भन्छन्, "सरकारले कम्पनीको खराब ऋण चुक्ता गर्न र दायित्व हटाउन कदम चालेको छ। तर यस प्रतिस्पर्धात्मक वातावरणमा एयरलाइन्सको सञ्चालन समस्या समाधान नभएसम्म कम्पनीहरूले यसका लागि उच्च मूल्य तिर्ने छैनन्।’
अब के?
पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले सामना गरिरहेको समस्या यस देशको आर्थिक संकटको प्रतीक हो।
हाल पाकिस्तानको सरकारी एयरलाइन्सका समस्यामा धेरै कारण देखिन्छन्।
राजनीति र निर्णय प्रक्रियामा भ्रमका कारण यसको गति सुस्त भएको छ।
हालको तनावपूर्ण राजनीतिक वातावरणमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्स आकाशमा आफ्नो गति जारी राख्न खरिकर्ताको प्रतीक्षामा छ। बीबीसी हिन्दीबाट
Shares

प्रतिक्रिया