पाकिस्तानसँगको 'सिन्धु जल सन्धि स्थगन गर्ने' विषयमा शुक्रबार भारतको जल शक्ति मन्त्रालयको बैठक बसेको छ।
दैनिक भास्करका अनुसार बैठकले यसलाई ३ चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ।
बैठकपछि केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिलले भने- यस सम्बन्धमा तीन प्रकारका रणनीति बनाइँदै छ। पाकिस्तानले एक थोपा पनि पानी पाउने छैन।
बैठक केन्द्रीय गृहमन्त्री अमित शाहको निवासमा भएको थियो। बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र जल शक्ति मन्त्री पाटिल सहभागी भए। यद्यपि ३ चरण र ३ प्रकारका रणनीतिबारे कुनै जानकारी दिइएको छैन।
पहलगाममा आतंकवादी हमला भएको भोलिपल्ट अप्रिल २३ मा भारत सरकारले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको हो।
भारतका जलस्रोत सचिव देवश्री मुखर्जीले बिहीबार राति पाकिस्तानी संसाधन मन्त्रालयका सचिव मुर्तजालाई पत्र लेखेकी छन्। जसमा सन्धि राम्रो सन्दर्भमा गरिए पनि राम्रो सम्बन्धबिना यसलाई कायम राख्न नसकिने उल्लेख गरिएको छ।

उता पाकिस्तानले भने सिन्धु जल सन्धिको अन्त्यलाई युद्धका रूपमा लिएको छ। पाकिस्तान सरकारले भनेको छ- भारतले सिन्धु जल सन्धि रोक्यो भने यसलाई युद्धको कार्य मानिनेछ।
अप्रिल २२ मा पहलगामनजिकै बैसरन उपत्यकामा आतंककारीहरूले २६ पर्यटकको हत्या गरेका थिए। तीमध्ये एक नेपाली नागरिक पनि थिए। १० जनाभन्दा बढी घाइते भए।
यसपछि भारतले पानी सन्धि स्थगन गर्नेसहित पाकिस्तानविरुद्ध ५ प्रमुख निर्णय गरेको छ।
१९६० मा हस्ताक्षर भएको थियो सिन्धु जल सन्धि, ६५ वर्षपछि रोकियो
यो सम्झौतामा १९६० मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानका राष्ट्रपति अयुब खानबीच हस्ताक्षर भएको थियो।
सम्झौतापत्रमा सिन्धु बेसिनबाट बग्ने ६ वटा नदीलाई पूर्वी र पश्चिमी भागमा विभाजन गरिएको थियो।
पूर्वी नदी रावी, ब्यास र सतलजको पानीमा भारतको पूर्ण अधिकार छ। भारतले पश्चिमी नदी सिन्धु, चेनाब र झेलमको २० प्रतिशत पानी रोक्न सक्छ।
Shares

प्रतिक्रिया