ग्लोबल


भारतलाई पाकिस्तानको जवाफ: द्विपक्षीय सम्झौता निलम्बन, हवाई क्षेत्र र सीमा बन्द

भारतलाई पाकिस्तानको जवाफ: द्विपक्षीय सम्झौता निलम्बन, हवाई क्षेत्र र सीमा बन्द

फाइल तस्बिर: पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार २०:२६, काठमाडौँ

पहलगाम आक्रमणपछि भारतले आफूविरुद्ध गरेको कारबाहीको जवाफमा पाकिस्तानले पनि धेरै कदम चाल्ने घोषणा गरेको छ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा बिहीबार इस्लामाबादमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले भारतविरुद्ध धेरैवटा निर्णय गरेको छ। 

जसमा भारतसँगको द्विपक्षीय सम्झौता निलम्बन गर्ने, हवाई क्षेत्र र सीमा बन्द गर्ने र व्यापार निलम्बन गर्नेलगायत कुरा छन्। 

बैठकपछि जारी विज्ञप्तिमा सिन्धु जल सन्धि निलम्बन गर्ने भारतको निर्णय अस्वीकार गरिएको छ र भनिएको छ- यस सन्धिअन्तर्गत पाकिस्तानको भागबाट पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिनेछ र पूर्ण शक्तिका साथ जवाफ दिइनेछ।

विज्ञप्तिमा अगाडि भनिएको छ- भारतले अन्तर्राष्ट्रिय महासन्धि, संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्ताव र अन्तर्राष्ट्रिय दायित्वको जानाजानी उपेक्षा गर्दै गरेको लापरवाह र गैरजिम्मेवार व्यवहारलाई ध्यानमा राख्दै पाकिस्तानले शिमला सम्झौतासहित भारतसँगका सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने अधिकार प्रयोग गर्नेछ।

भारतले पाकिस्तानभित्र आतंकवादलाई बढावा दिने, विदेशमा हत्या गर्ने र कश्मीरमा संयुक्त राष्ट्र संघका प्रस्ताव पालना नगर्ने व्यवहार नरोकेसम्म पाकिस्तानले यी सम्झौता निलम्बन राख्ने पाकिस्तानले बताएको छ।

पाकिस्तानले भारतको स्वामित्वमा रहेका वा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र तुरुन्तै बन्द गर्ने घोषणा गरेको छ। साथै वाघा सीमा पनि तत्काल बन्द गर्ने घोषणा गरेको छ।

यद्यपि घोषणाअनुसार, वैध कागजातसहित सीमा पार गरेर प्रवेश गरेकाहरू अप्रिल ३० सम्म यस बाटो हुँदै फर्कन सक्नेछन्।

पाकिस्तानले सिख तीर्थयात्रीबाहेक सार्क भिसा छुट कार्यक्रमअन्तर्गत सबै भारतीय नागरिकलाई दिइएका सबै भिसा निलम्बन गरेको छ र यी भिसा रद्द भएको मानिनुपर्ने बताएको छ।

यस्ता भिसामा पाकिस्तानमा बसोबास गर्ने भारतीय नागरिकलाई ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिइएको छ।

साथै घोषणामा भनिएको छ- भारतसँगका सबै प्रकारका व्यापार पनि निलम्बन गरिएको छ र यो कुनै पनि तेस्रो देशमार्फत गरिने व्यापारमा पनि लागु हुनेछ।

पाकिस्तानले इस्लामाबादमा रहेका भारतीय रक्षा/सैन्य सल्लाहकारहरूलाई पनि अवाञ्छित व्यक्ति घोषित गरेको छ र तुरुन्तै देश छाड्न भनेको छ, जबकि यी सल्लाहकारका सहयोगी कर्मचारीलाई पनि फिर्ता जान निर्देशन दिइएको छ।

घोषणाअनुसार, २०२५ अप्रिल ३० देखि इस्लामाबादस्थित भारतीय उच्चायोगमा कर्मचारी संख्या ३० मा सीमित हुनेछ।

पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणबेगर पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयास व्यर्थ, तर्कहीन र तार्किक हारको संकेत भएको बताएको छ।

विज्ञप्तिमा पाकिस्तानले कुनै पनि भेदभावबिना सबै प्रकारका आतंकवादको निन्दा गर्ने र आतंकवादविरुद्ध विश्वको एक अग्रणी देश भएका कारण यसले ठूलो क्षति बेहोरेको पनि उल्लेख छ।

पाकिस्तानले भारतीय दाबीविपरीत पाकिस्तानमा 'भारत-प्रायोजित आतंकवाद'को अकाट्य प्रमाण रहेको दाबी गरेको छ, जसमा पूर्वभारतीय नौसेना अधिकारी कमान्डर कुलभूषण जाधवको स्वीकारोक्ति पनि समावेश छ।

यसअघि बुधबार भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द, सार्क भिसा छुट कार्यक्रमअन्तर्गत पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको थियो।

यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र भारत छाड्न भनिएको छ। साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि भारतले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad