युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युक्रेन आएर आफूहरूको हालत हेर्न आग्रह गरेका छन्।
सीबीएस न्युजको '६० मिनेट' कार्यक्रममा जेलेन्स्कीले रुससँग कुनै पनि सम्झौता गर्नुअघि आफ्नो देशको भ्रमण गर्न ट्रम्पलाई निम्ता गरेका हुन्।
उनले भनेका छन्, ‘कृपया कुनै पनि निर्णय, छलफल गर्नुअघि, यहाँ आउनुहोस् र मानिसहरूलाई हेर्नुहोस्, सेनालाई हेर्नुहोस्, अस्पतालहरू हेर्नुहोस्, चर्चहरू हेर्नुहोस्, नष्ट गरिएका वा मारिएका बालबालिकाहरूलाई हेर्नुहोस्।’
जेलेन्स्कीको यो अन्तर्वार्ता आइतबार युक्रेनी सहर सुमीमा रुसी क्षेप्यास्त्र आक्रमण हुनुभन्दा पहिले रेकर्ड गरिएको थियो।
यस आक्रमणमा २ बालबालिकासहित ३४ जनाको मृत्यु तथा ११७ जना घाइते भएको बीबीसीले जनाएको छ।
ट्रम्पले युक्रेन र रुसबीच युद्धविराम सम्झौता गराउन पहल गरिरहेको भए पनि पुटिन मानिरहेका छैनन्।
जसले आफूलाई पुटिनप्रति निकै आक्रोशित र दु:खी बनाएको ट्रम्पले बताएका थिए।
यसपछि रुसले आफू अझै पनि 'अमेरिकासँग काम गरिरहेको' प्रतिक्रिया दिएको थियो।
यसैबीच गत शुक्रबार (चैत २९ गते) ट्रम्पका विशेष दूत स्टिभ विटकफले सेन्ट पिटर्सबर्गमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ४ घण्टा लामो भेटवार्ता गरेका थिए।
Shares

प्रतिक्रिया