ग्लोबल


अमेरिकाले युक्रेनलाई दिएको हतियार ‘तीन महिना’मा सकिने

‘त्यसपछि मोर्चा पतन त भइहाल्दैन तर रुस अघि बढिरहने छ’
अमेरिकाले युक्रेनलाई दिएको हतियार ‘तीन महिना’मा सकिने

नेपालखबर
फागुन २०, २०८१ मंगलबार २१:२९,

अमेरिकाले सोमबार युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्का गर्ने घोषणा गर्‍यो। यससँगै अमेरिकी हतियार, अन्य सामग्री वा गुप्तचर सूचनाबिनै लड्नुपर्ने अकल्पनीय परिस्थिति युक्रेनसामु देखा परेको छ।

एक वरिष्ठ युक्रेनी गुप्तचर अधिकारीले अमेरिकाले दिएको अन्तिम सैन्य सामग्री ‘दुई वा तीन महिनामा’ समाप्त हुने जानकारी दिए।

‘त्यसपछि हाम्रा लागि निकै कठिन हुने छ,’ ती अधिकारी भन्छन्, ‘पूरै पतन हुने छैन। तर, हामी छिटोछिटो पछि हट्न बाध्य हुनेछौँ।’

युक्रेनमाथि रुसको आक्रमणको चौथो वर्ष चलिरहेको छ। दसौँ हजार युक्रेनी सैनिकले देशको पूर्वी र दक्षिणी भेगमा रुसी सेनालाई रोकिराखेका छन्। १ हजार किमिभन्दा लामो मोर्चामा अमेरिकी सैन्य सहयोग रोकिनुको असर व्यापक मात्रामा पर्ने छ। यद्यपि, केही उपकरण युरोपले उपलब्ध गराउने छ।

डोनाल्ड ट्रम्प र भ्लादिमिर जेलेन्स्कीबीच ओभल अफिसमा झगडा परेको तीन दिनपछि अमेरिकाले सैन्य सहयोग रोक्ने निर्णय गरेको हो। 

अमेरिकी विदेश मन्त्रालयका अनुसार गत तीन वर्षमा अमेरिकाले युक्रेनलाई ६६ अर्ब डलरको सैन्य सहायता दिएको छ। संसदले १७५ अर्ब डलरको अनुमति दिए पनि त्यसको एउटा हिस्सा मात्र सोझै युक्रेन पुग्यो। केही रकम युक्रेनी सैनिकलाई तालिम दिन अमेरिकामै खर्च भयो।

अमेरिकाले तोप गोलादेखि बख्तरबन्द गाडीसम्म र अत्याधुनिक हवाई प्रतिरक्षा प्रणालीदेखि मोबाइल पुल, ट्यांकप्रतिरोधी माइन अनि लामो दूरीमा मार हान्ने क्षेप्यास्त्रसम्म दिएको थियो। त्यसभन्दा पनि महत्त्वपूर्ण अमेरिकाले गुप्तचर सूचना दिँदै आएको छ। जुन अहिलेसम्म रोकिएको छैन।

‘यसको असर नाप्न सजिलो छैन। किनभने अमेरिकाले दिएको सहयोगको ठूलो हिस्सा यस्तो छ, जसका बारेमा सार्वजनिक रूपमा चर्चा भएको छैन,’ सैन्य विश्लेषक तथा अमेरिकी थिंक ट्यांक कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेसनल पिसका अध्येता माइकल कोफम्यान भन्छन्।

युरोपेली मुलुकहरूले युक्रेनलाई सैन्य सहायता बढाउने प्रयास थालेका छन्। तर ती मुलुक आफैँ हतियार उत्पादन बढाउन सकिरहेका छैनन्। 

युक्रेनमा अमेरिकाले दिएको पाँचवटा प्याट्रियट प्रणाली छ। त्यसको क्षेप्यास्त्र अभाव भए युक्रेनलाई समस्या पर्ने छ।

मंगलबार युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहालले भनेका छन्, ‘रुसी ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसाउने एक मात्र हतियार भनेको प्याट्रियट हो।’

‘सबैभन्दा आधुनिक हतियार रोकियो भने युक्रेनले विमानस्थल, विद्युत् गृह वा हतियार कारखानमध्ये के जोगाउने भनेर प्राथमिकीकरण गर्नुपर्ने अवस्था आउँछ,’ फिनल्यान्डको ब्ल्याक बर्ड ग्रुपका एमिल कास्तहेल्मी बताउँछन्।

अग्रामोर्चामा भने मुख्य लडाइँ ड्रोनको भरमा लडिँदैछ। त्यहाँ सहयोग रोक्काको असर महसुस हुन कयौँ साता लाग्ने छ। युक्रेनी सेनाले प्रयोग गरिरहेको ड्रोन अधिकांश युक्रेनमै उत्पादन हुन्छ। तैपनि उसले अनेकौँ प्रकारका अमेरिकी सवारी प्रयोग गर्छ, जसको निरन्तर मर्मत आवश्यक पार्छ। 

‘मेरो सामान्य दृष्टिकोण के छ भने प्रमुख असर देखिन दुई महिनाजति लाग्छ। र, त्यो असर अचुक निसाना लगाउने युक्रेनको क्षमतामा देखिने छ,’ कोफम्यान भन्छन्।

अमेरिकाले दिएको हाइमार्स मल्टिपल रकेट लन्चरको सहायताले युक्रेनले टाढैबाट रुसको कमान्ड पोस्ट, बन्दोबस्तीका केन्द्रजस्ता निसाना ध्वस्त पादै आएको छ। 

त्यसको विकल्प युक्रेनसँग नभएको विश्लेषकहरू बताउँछन्। 

अमेरिकी हतियारले नै युक्रेनले ३ सय किमि टाढा रुसभित्रसमेत प्रहार गर्दै आएको छ। त्यो कामका लागि रुससँग बेलायतले दिएको स्टोर्म स्याडो र फ्रान्सले दिएको स्काल्प क्षेप्यास्त्र छ।

‘तर ती एकै होइनन्। ती अमेरिकी क्षेप्यास्त्रभन्दा निकै धिमा र खसाउन सहज छन्,’ युक्रेनी सैन्य विश्लेषक पाब्लो नारोज्नी भन्छन्, ‘अमेरिकी सहयोगबिना अग्रमोर्चा पतन त भइहाल्दैन तर रुस अघि बढिरहने छ।’

यदि इलोन मस्कको स्टारलिंक बन्द भयो भने अग्रमोर्चामा सबैभन्दा ठूलो असर पर्ने छ। 

‘स्टारलिंक बन्द भयो भने तुरुन्तै समस्या पर्नेछ,’ युक्रेनका पूर्वसांसद तथा हाल सेनामा काम गरिरहेका इगोर फिरसोव भन्छन्, ‘पैदल सेना, गुप्तचर, ड्रोन, तोपखाना सञ्चालक, ब्रिगेड र बटालियन हेडक्वार्टर सबैले स्टारलिंक चलाउँछन्।’

यद्यपि, त्यसको विकल्प खोजिरहेको युक्रेनीहरूको भनाइ छ। फाइनान्सियल टाइम्सबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad