ग्लोबल


हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल

हमासले २ छोरासँगै दिएको शव शिरीको होइन, कसको हो, चिनिएन: इजरायल

शिरी बिबास


नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १४:१२, काठमाडौँ

इजरायलले बिहीबार गाजाबाट फिर्ता गरिएका ४ बन्धकका शवमध्ये एउटा हमासले बताएअनुसार शिरी बिबासको नभएको शुक्रबार बताएको छ।

बिहीबार हमासले गाजामा बन्धक बनाएर राखिएका ४ जनाको शव रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको थियो। 

त्यसमा तीन शव शिरी बिबास र उनका दुई छोराको भनिएको थियो। तर दुई अवशेष शिरीका छोराहरू एरियल र कफिरको भएको पुष्टि भए पनि अर्को शव उनीहरूकी आमा शिरीको नभएको इजरायली सेनाले बताएको हो। 

सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन्, ‘अनुसन्धान प्रक्रियाका क्रममा हस्तान्तरण गरिएकामध्ये तीन जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।’

तर यस विषयमा हमासले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। 

७ अक्टोबर २०२३ मा हमासले शिरी बिबासलाई उनका दुई छोरा एरियल र काफिरसँगै बन्धक बनाएको थियो।

बीबीसीका अनुसार बन्धक बनाउँदा शिरी लगभग ३२ वर्षकी थिइन् भने एरियल ४ वर्ष र काफिर ९ महिनाका थिए।

जनवरी १९ देखि युद्धविराम भएयता हमासले बिहीबार मृत बन्धकहरू फिर्ता गरेको यो पहिलोपटक हो।

यसअघि हमासले ६ खेप गरेर जीवित २४ बन्धक रिहा गरेको थियो। सट्टामा इजरायलले ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ। 

तर हमासको कब्जामा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीलाई अझै रिहा गरिएको छैन। उनी जीवितै रहेको विश्वासमा सकुशल रिहाइका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad