ग्लोबल


नेपालको डिजिटल प्रणाली विस्तार र साइबर सुरक्षामा सहयोग  गर्ने स्टोनियाको चाहना

नेपालको डिजिटल प्रणाली विस्तार र साइबर सुरक्षामा सहयोग  गर्ने स्टोनियाको चाहना

नेपालखबर
माघ २२, २०८१ मंगलबार १४:२३, काठमाडौँ

उत्तरपश्चिमी युरोपेली मुलुक इस्टोनियाले नेपालको साइबर सुरक्षामा सहयोग गर्न इच्छुक रहेको जनाएको छ। 

नेपालका लागि स्टोनियाका अवैतनिक बाणिज्य दूत एवं पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालसँगको भेटमा त्यहाँको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्यस्तो इच्छा प्रकट गरेका हुन्। 

दाहालका अनुसार स्टोनियाले डिजिटल प्रणालीको प्रयोग, विस्तार र साइबर सुरक्षाको क्षेत्रमा सहयोग गर्न चाहेको छ। 

स्टोनियाका अधिकारीहरुले ई–गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विज्ञहरुलाई नेपाल पठाएर सरकारी कर्मचारी, निजी क्षेत्र (बैंकिङ र गैरबैंकिङ) तथा नेपालका विभिन्न विश्वविद्यालयमा सूचना प्रविधि (आईसीटी) विषय अध्ययनरत विद्यार्थीहरुलाई व्यवसायिक तालिम दिन सकिने बताएको दाहालले जानकारी दिए।

 ‘उहाँहरुले विज्ञहरुको टिम नै पठाएर नेपालमा प्रणाली विस्तार र साइब सेक्युरिटीबारे तालिम दिने प्रस्ताव गर्नुभएको छ’,दाहालले भने, ‘म नेपाल फर्किएपछि परराष्ट्र मन्त्रालयमार्फत कुरा अघि बढाउँछु।’ 

स्टोनिया सरकारी कामकाज, बैंकिङ प्रणाली, जागिर र चुनावलगायतमा शतप्रतिशत अनलाइन (डिजिटल) प्रणाली प्रयोग गरेको मुलुक हो। युरोपका अधिकांश देश र भारतसम्म स्टोनियाको अनलाइन व्यापारमा बलियो उपस्थिति छ। 

दाहालले स्टोनियाका अधिकारीहरुसमक्ष नेपाल विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय चिया, कफी र ह्याण्डी क्राफ्टका सामान उत्पादक मुलुक भएकाले ती सामानको बजार विस्तारमा सहयोग गर्न पनि आग्रह गरेको बताए। 

दाहालले सोमबार स्टोनियाको परराष्ट्र मन्त्रालयअन्तर्गत मानव अधिकार र आप्रवाशनसम्बन्धी विभाग प्रमुख केटरिन किभी, सोही विभागअन्तर्गत अफ्रिका, मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने ग्रेटी भेथर, संयुक्त राष्ट्रसंघीय संयोजक लिसा शाफ्रिक, परराष्ट्र मन्त्रालयअन्तर्गतकै व्यापार, कूटनीति र मानव श्रोतसम्बन्धी विभागका निदेशक अर्वो एन्टोन, शिक्षा  आर्थिक कूटनीति हेर्ने विभागका पीप जाहिलो, व्यापार र कूटनीतिसम्बन्धी विभागका एसिया क्षेत्रका सल्लाहकार कार्मेन पाजुस्टे, ई-गभर्नेन्स एकेडेमीको तालिम दिनेसम्बन्धी विभागका प्रमुख एनेला किराट्स् र भारतका लागि इस्टोनियाका पूर्वराजदूत तथा रिहो क्रुभसँग भेटेका थिए। 

भेटबाट आगामी दिनमा नेपाल र स्टोनियाबीच आर्थिक र कूटनीतिक सम्बन्ध थप मजबुत, गतिशील र पारस्परिक रुपमा थप लाभदायी हुने विश्वास बढेको दाहालले बताए।
 
यसअघि ‘इस्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री’ का पदाधिकारीसँग पनि दाहालले भेटेका थिए। त्यस क्रममा नेपाल–इस्टोनिया चेम्बर अफ कमर्स स्थापना गर्नेबारे सहमति भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad