गाजापट्टीको उत्तरमा रहेका हजारौँ विस्थापित प्यालेस्टिनीलाई आफ्नो घर फर्कनबाट रोक लगाइएको छ।
इजरायलले मुख्य सडक अवरुद्ध गरेपछि उनीहरू घर फर्किन नपाएका हुन्।
शनिबार हमासले ४ इजरायली महिला सैनिक मुक्त गर्यो भने बदलामा इजरायलले २ सय प्यालेस्टिनी कैदी रिहा रिहा गर्यो।
तर इजरायलले इजरायली नागरिक अर्बल येहुद रिहा नगरेसम्म गाजाका बासिन्दालाई उत्तरतिर जान अनुमति नदिने अडान लिएको हो।
शनिबार अर्बल पनि रिहा गरिनुपर्ने इजरायलको भनाइ थियो।
हमासले भने उनी जीवित रहेको र अर्को हप्ता रिहा हुने आश्वासन दिएको छ।
सम्झौताअनुसार, हमासले सैनिकहरू भन्दा पहिले सर्वसाधारणलाई रिहा गर्नुपर्ने थियो।
इजरायलले हमासलाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ।
यही जनवरी १९ देखि हमास र इजरायलबीच युद्धविराम भएको छ।
युद्धविराम सम्झौतामा एकअर्काका बन्धक/कैदी नागरिक क्रमश: रिहा गर्ने सहमति भएको छ।
सोबमोजिम शनिबार उनीहरूले दोस्रोपटक कैदी/बन्दी आदानप्रदान गरेका हुन्।
यसअघि पहिलोपटक हमासले ३ इजरायली महिला बन्धक छाड्दा इजरायलले ९० प्यालेस्टिनी कैदी रिहा गरेको थियो।
बीबीसीका अनुसार युद्धविरामको पहिलो चरणअन्तर्गत ६ हप्ताको अवधिमा हमासले कूल ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको छ।
यसरी हमासले बन्धक छाडिरहँदा नेपाली विद्यार्थी विपिन पनि छाडिने आशा उनको परिवारले गरिरहेको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो।
हमास आक्रमणमा १२०० इजरायली मारिए भने यस क्रममा २५१ इजरायली नागरिकलाई हमासले बन्धक बनाएको थियो।
त्यसयता इजरायले गाजामा गरेको आक्रमणमा परी हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया