सुदूरपश्चिम


विपिनकी आमाको गुहार : युद्धविरामको अवसर नगुमोस्, छोरालाई घरमा हेर्न पाऊँ

विपिनकी आमाको गुहार : युद्धविरामको अवसर नगुमोस्, छोरालाई घरमा हेर्न पाऊँ

गोकुल जोशी
माघ ६, २०८१ आइतबार २१:५, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीकी पद्मा जोशी प्रायः समाचार हेर्न छुटाउँदिनन्। इजरायल गएका एक्ला छोरा विपिनलाई हमासले बन्धक बनाएपछि सम्पर्क हुन सकेको छैन। 

उनी छोराको केही जानकारी आउँछ कि भनेर दिनहुँ समाचार हेर्ने गर्छिन्। शनिबार उनले खबर पाइन्, गाजामा युद्धविराम भयो।

छोरा घर फर्किने बाटो कुरेर बसेकी पद्माको आशा जागेको छ। 

तर, परिवार अझै ढुक्क भने हुन सकेको छैन। १५ महिनादेखि छोराको अवस्था पत्ता नलाग्दा परिवार बेचैन छ। 

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्धविरामपछि हमासले पहिलो चरणमा मुक्त गर्ने ३३ बन्धकको नाम सार्वजनिक गरेको छ। तर, विपिनको नाम त्यसमा समावेश छैन। 

‘युद्धविरामको खबरले आशा पलाएको छ। पहिलोपटक युद्धविराम हुँदा छोरा रिहा भएनन्। अहिले बन्धक रिहा हुने पहिलो चरणमै छोरा रिहा भए हुन्थ्यो,’ आमा पदमाले भनिन्, ‘पछि युद्ध के हुन्छ भन्ने डर छ।’

युद्धविराममा विपिनको रिहाइका लागि कूटनीतिक पहल गर्न उनी सरकारलाई आग्रह गर्छिन्। हमासको बन्धनबाट मुक्त गरेर स्वदेश फिर्ता गर्ने अवसर भएकाले सरकारले यो मौका गुमाउनु नहुने उनको भनाइ छ। 

‘सरकारले हामीलाई केही बताएको छैन, पहल भइरहेको समाचारमै सुन्छौँ। हामीले गरेर केही हुँदैन,’ उनले भनिन्, ‘सरकारले कूटनीतिक पहल गरेर छोरालाई घर फर्काओस्। बिन्ती छ, यो अवसर नगुमाओस्।’ 

पहिलोपटकको युद्ध विराममा हमासले सय बढी बन्धकलाई रिहा गरेको थियो। त्यो बेला विपिन छुटेनन्।

गृहमन्त्री रमेश लेखकले सरकारलाई प्राप्त जानकारी अनुसार विपिन सकुशल रहेको बताएका छन्। आइतबार नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा विपिनको रिहाइका लागि सरकार पहल गरिरहेको उनले बताए।

युद्धविराम पनि भएकाले विपिन रिहा हुने उनले विश्वास व्यक्त गरे। 

‘विपिन सकुशल रहेको सरकारले जानकारी प्राप्त गरेको छ। रिहाइको लागि सरकार अत्यन्त गम्भीर रुपले लागिरहेको छ,’ उनले भने, ‘अहिले युद्धविराम भएको स्थितिले विपिनलाई हामी सकुशल घर फर्काउन सक्छौँ भन्ने विश्वासमा छौँ।’

‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिए। हमासले फालेको ‘ग्रिनेड’ हालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।

विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौँपटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन्। सरकारले कूटनीतिक पहल जारी राखेको बताए पनि हालसम्म उपलब्धि देखिएको छैन।

विपिनको भाँसीस्थित परिवारमा बुवा, आमा र बहिनी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad