ग्लोबल


युद्धकै बीच इजरायलमा रक्षामन्त्री बर्खास्त

युद्धकै बीच इजरायलमा रक्षामन्त्री बर्खास्त

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ०:२४, काठमाडौँ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना रक्षामन्त्री योअभ गालन्टलाई बर्खास्त गरेका छन्।

नेतन्याहुले भिडिओ वक्तव्य सार्वजनिक गर्दै गालन्टप्रति आफ्नो विश्वास नरहेकोले रक्षामन्त्रीको पदबाट हटाएको घोषणा गरेका हुन्।

अब रक्षामन्त्रीका रूपमा गालन्टको स्थान विदेशमन्त्री इजरेल काट्जले ग्यालान्टको स्थान लिने घोषणा पनि नेतन्याहुले खुलाएका छन्। युद्धका दौरान प्रधानमन्त्री र रक्षामन्त्रीका बीच पूर्ण विश्वास हुनुपर्नेमा दुर्भाग्यवश ग्यालन्टप्रतिको विश्वास भत्किएको उनले बताएका छन्। 

प्रधानमन्त्रीको यो निर्णय सार्वजनिक भएलगत्तै गालन्टले सामाजिक सञ्जालमा लेखेका छन्, 'इजरायल राज्यको सुरक्षा मेरो जीवनको मिसन थियो र सधैँ रहनेछ।'

पश्चिमा सञ्चार माध्यमहरूले युद्धरत इजरायलका प्रधानमन्त्री नेतन्याहुको यस कदमलाई नाटकीय भनेर टिप्पणी गरेका छन्।

न्युयोर्क टाइम्सका अनुसार, गालन्टले धेरैपटक प्रधानमन्त्री नेतन्याहुसँग गाजा युद्धमा इजरायली व्यवहारप्रति असहमति राख्दै आएका थिए। उनको त्यही असहमतिका कारण नेतन्याहुले ग्यालन्टलाई पार्टीमा प्रमुख आन्तरिक विरोधीका रूपमा लिइरहेका थिए। ग्यालन्ट सत्ताधारी पार्टी लिकुडमा शक्तिशाली नेताका रूपमा चिनिन्छन्। 

गालन्ट त्यहाँको सेनाका पूर्वजर्नेल हुन्। उनले शिक्षा, निर्माण, अध्यागमनजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हालिसकेका छन्। 

केही टिप्पणीकारले भने नेतन्याहुसँग उनको कुनै युद्धनीतिमा असहमति नभई निजी र राजनीतिक कारणले यो घटना भएको बताएका छन्। उनीहरूका भनाइमा, ग्यालन्ट पनि उत्तिकै क्रूर र हिंस्रक हुन्, जति नेतन्याहु छन्। यसको प्रमाणका रूपमा उनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनसँग हमासको सफायाका लागि जति प्यालेस्टिनीलाई मार्नुपरे पनि आफू जुनसुकै मूल्यमा तयार रहेको भनेका प्रसंगहरू अहिले पुनः चर्चामा ल्याइएको छ। 

प्रधानमन्त्री नेतन्याहुले भने सुरूका दिनमा गालन्टसँग निकै विश्वासको वातावरणमा काम गरेको तर पछिल्ला केही महिनामा विश्वास क्षयीकरण भएको बताएका छन्।

नेतन्याहुले २ वर्षअघि पनि गालन्टलाई रक्षामन्त्रीको पदबाट बर्खास्त गरेका थिए। त्यतिखेर राष्ट्रिय सुरक्षा कमजोर पार्न न्याय प्रणाली पुनर्संरचनासम्बन्धी कानुन ल्याएको भनेर नेतन्याहुको आलोचना गरेपछि उनी झण्डै बर्खास्तगीमा परेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad