ad ad

ग्लोबल


बेलायतको प्रधानमन्त्रीमा किअर स्टारमर नियुक्त

बेलायतको प्रधानमन्त्रीमा किअर स्टारमर नियुक्त

नेपालखबर
असार २१, २०८१ शुक्रबार १७:१२,

करिब डेढ दशकपछि लेबर पार्टीलाई चुनावी जित दिलाएका किअर स्टारमर बेलायतको प्रधानमन्त्री बनेका छन्।

चुनावी नतिजा आइरहँदा राजा चार्ल्सले उनलाई भेटेर सरकार गठन गर्न निम्त्याएसँगै उनी आधिकारिक रुपमा प्रधानमन्त्री बनेका हुन्।

शाही सहयोगी सर क्लाइभ एल्डरटनले राजासँग उनको परिचय गराएका थिए। परम्पराअनुसार राजाका सहयोगीले राजापछि प्रधानमन्त्रीलाई बधाई दिने गर्छन्।

त्यसपछि क्याबिनेट गठनको चर्चा हुने गर्छ।

यसअघि प्रधानमन्त्री ऋषि सुनकले दिएको राजीनामा राजा चार्ल्सले स्वीकृत गरेका थिए।

को हुन् स्टारमर?
स्टारमर २ सेप्टेम्बर १९६२ मा दक्षिण लन्डनको साउथवार्कमा जन्मिएका हुन्। लेबर पार्टीका संस्थापक किअर हार्डीबाट प्रभावित भएर उनको नाम राखिएको बताइन्छ।

तीन सहोदरका साथ उनी सर्रीस्थित अक्सटेड नामक सानो सहरमा हुर्किए। जहाँ उनका पिता रड्नी औजार बनाउने काम गर्थे भने आमा जोसेफाइन सरकारी नर्स थिइन्।

उनकी आमा एउटा दुर्लभ किसिमको बाथका कारण हिँड्न, बोल्न र खान नसक्ने भएकी थिइन्। २०१५ मा उनको निधन भएको थियो। 

किशोरावस्थामै उनी आमाबुवाबाट प्रभावित भएर लेबर पार्टीमा लागे। 

राइगेट ग्रामर स्कुल पास भएपछि उनले लिड्स युनिभर्सिटीमा कानुन पढे। उनी विश्वविद्यालय जाने परिवारको पहिलो सदस्य थिए। त्यसपछि अक्सफोर्डबाट उनले पोस्टग्य्राजुएट गरे।

उनको पिताको २०१८ मा निधन भयो, जोसँग निकट सम्बन्ध नरहेकोमा उनले पछुतो व्यक्त गरेका छन्।

युनिभर्सिटीबाट निस्केपछि स्टारमर वामपन्थीहरूमाझ वैचारिक वकिलका रूपमा उदाए।

उनले कट्टर वामपन्थी जर्नल सोसलिस्ट अल्टरनेटिभ्सको स्थापना र सम्पादनमा सघाए। सो जर्नललाई त्रोत्स्कीपन्थी भन्ने गरिन्थ्यो, जसको पाँच प्रति मात्र बिकेको भन्दै उनले मजाक गरेका थिए।

१९८७ मा उनले ब्यारिस्टरका रूपमा काम गर्न थाले। १९९० सम्ममा उनी चर्चित मानव अधिकार वकिल बनिसकेका थिए, जसले म्याकडोनाल्ड्स र सेलजस्ता कम्पनीविरुद्ध मुद्दा लडेका थिए भने मृत्युदण्डको विरोध गरेका थिए। 

त्यसपछि उनी सरकारी वकिल बने। तर २००८ मा उनी बेलायतको सरकारी वकिल कार्यालयको प्रमुख नियुक्त भएपछि उनका समर्थहरू छक्क परे। किनकि तिनको नजरमा उनी जसका विरुद्ध लडिरहेका थिए, तिनैको सहयोगी हुन पुगेका थिए। २०१३ सम्म उनी सो पदमा रहे।

२०१४ मा उनलाई अपाराधिक न्यायको क्षेत्रमा गरेको कामका लागि नाइटको उपाधि दिइयो।

२०१५ मा उनी सांसद भए। २०२० मा जेरेमी कोर्बिनलाई विस्थापित गरी उनी लेबर पार्टीको नेता बनेका थिए। 

उनको विवाह २००७ मा भएको थियो। उनकी पत्नी भिक्टोरिया एनएचएसमा काम गर्छिन्। 

उनीहरूका दुई सन्तान छन्। स्टारमर फुटबल क्लब आर्सनलका समर्थक हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .