ad ad

ग्लोबल


युक्रेनसँग युद्धविरामका लागि पुटिनले अघि सारे यस्ता सर्त

युक्रेनसँग युद्धविरामका लागि पुटिनले अघि सारे यस्ता सर्त

नेपालखबर
असार १, २०८१ शनिबार १५:२७,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्धविरामका लागि विभिन्न सर्त अघि सारेका छन्। हाल युद्ध चलिरहेका चार क्षेत्रबाट युक्रेनी सेना पछि हटे रुसले तुरुन्तै हतियार बिसाउने पुटिनको भनाइ छ।

त्यस्तै, युक्रेनले कहिल्यै नेटोमा सहभागी नहुने, आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने उनको सर्त छ। त्यसका अलावा पश्चिमा मुलुकहरुले लगाएको आर्थिक नाकाबन्दी पनि हटाउनुपर्ने सर्त उनले अघि सारेका छन्।

यी सर्तहरुलाई युक्रेनले तत्काल अस्वीकार गरेको छ। पुटिनको प्रस्ताव आत्मसमर्पण बराबर भएको युक्रेनको प्रतिक्रिया छ।

‘नयाँ भौगोलिक यथार्थलाई मान्यता दिइनुपर्छ,’ विदेश मामिलासम्बन्धी अधिकारीहरुलाई सम्बोधन गर्दै शुक्रबार पुटिनले भनेका थिए, ‘यी सबै आधारभूत सैद्धान्तिक सर्तहरुलाई अन्तर्राष्ट्रिय सम्झौताहरुले अनुमोदन गर्नुपर्छ। स्वाभाविक रुपमा रुसविरुद्धका सबै पश्चिमा प्रतिबन्ध रद्द हुनुपर्छ।’

पुटिनको सर्तअनुसार दोनेस्क, खेर्सन, लुहान्स्क र जापोरिजा क्षेत्रमा रुसको अधीन कायम हुनुपर्नेछ। यी चारै क्षेत्रमा पछिल्ला महिनाहरुमा लडाइँ चलिरहेका छन्। विस्तारै रुसी फौज अघि बढ्दै जाँदा युक्रेन महत्वपूर्ण लडाइँहरुमा हारिरहेको छ।

‘आज हामी वास्तविक शान्ति सम्झौताको प्रस्ताव अघि सारिरहेका छौँ,’ पुटिनले भने, ‘किभ र पश्चिमा मुलुकहरुले पहिलेझैँ यसलाई अस्वीकार गरे भने निरन्तर रक्तपातको राजनीतिक र नैतिक जिम्मेवारी उनीहरुकै हुनेछ। निश्चय नै जमिनको यथार्थ निरन्तर बदलिँदै जानेछ तर किभको पक्षमा होइन। त्यतिबेला वार्ताका सर्तहरु अलग हुनेछन्।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .