ad ad

ग्लोबल


मोदी भर्सेस् युट्युबर : मूलधार छाडेका पत्रकार युट्युबमा सफल हुनुका ३ कारण

मोदी भर्सेस् युट्युबर : मूलधार छाडेका पत्रकार युट्युबमा सफल हुनुका ३ कारण

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार २१:१२,

‘युट्युब हुँदैनथ्यो भने म यो पेसाबाटै बाहिर हुन्थेँ,’ एसियाको नोबेल पुरस्कार भनिने प्रतिष्ठित म्यागसेसे पुरस्कार विजेता तथा पुराना पत्रकार रवीश कुमार भन्छन्।

लामो समय एनडीटीभीमा कार्यक्रम प्रस्तोता रहेका उनले २०२२ को अन्त्यतिर सो च्यानल छाडेका थिए। भारतका सीमित निष्पक्ष समाचार च्यानलमध्ये एक मानिने एनडीटीभी प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट रहेका अर्बपति गौतम अदानीले किनेपछि रवीशले राजीनामा दिएका थिए।

आजभोलि रवीश कुमार स्वतन्त्र पत्रकारका रुपमा क्रियाशील छन्। उनको एउटा युट्युब च्यानल छ। जसका एक करोड सब्स्क्राइबर छन् भने सातामा २ करोड भ्युज प्राप्त गर्छन्। भारतमा युट्युब छेउ लगाइएका पत्रकारदेखि राजनीतिक व्यंग्यकर्तासम्मका लागि शरण बनेको छ।

उदाहरणका रुपमा ध्रुव राठीलाई लिऔँ। २९ वर्षीय यी युट्युबर असहमतहरूमध्ये प्रमुख हस्तीका रुपमा उदाएका छन्। करिब २ करोड सब्स्क्राइबर भएको उनको च्यानल भारतको सबैभन्दा लोकप्रियमध्येमा पर्छ। भारत तानाशाहीतर्फ लम्किँदैछ भन्ने तर्क गरिएको उनको एउटा पछिल्लो भिडिओले एक महिनामै ३ करोड २० लाखभन्दा बढी भ्युज पाएको छ।

पहिले राष्ट्रिय टीभीमा प्रस्तोता रहिसकेका अन्य अनुभवी र पुराना पत्रकारहरू पूण्य प्रसुन बाजपेयी, अभिसार शर्मा र अजित अञ्जुमले विशाल दर्शकका लागि युट्युबमै कार्यक्रम चलाउँछन्। यो माध्यमलाई अझ प्रभावशाली बनाउने काम लोक गायिका नेहा सिंह राठौर र कमेडियन कुणाल कामराजस्ताले गरेका छन्।

कागजमा हेर्दा भारतको सञ्चार क्षेत्र जीवन्त छ। करिब ४ सय न्युज च्यानल र २० भन्दा बढी भाषामा दैनिक प्रकाशन हुने २० हजार पत्रपत्रिका छन्। तर, केही समययता भारतमा प्रेस स्वतन्त्रता खुम्चिँदो छ। र, मोदीको नेतृत्वमा यो क्षयीकरण झन् तीव्र भएको छ। 

रिपोर्टर्स विदआउट बोर्डर्स नामक अन्तर्राष्ट्रिय वाचडगको वार्षिक प्रेस स्वतन्त्रता सूचकका अनुसार मोदी प्रधानमन्त्री चुनिएको वर्ष २०१४ मा भारत १८० मध्ये १४०औँ स्थानमा थियो। २०२४ मा भारत १५९औँ स्थानमा झरेको छ।

ठूला मिडिया ग्रुपको स्वामित्व सीमित कम्पनीको हातमा छ। मोदीका अर्का अर्बपति मित्र मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजको नियन्त्रणमा भारतका ६० भन्दा बढी मिडिया आउटलेट छन्। मिडिया उद्योग सीमित व्यापारीको पकडमा गएसँगै आलोचनात्मक रिपोर्टिङको ठाउँ खुम्चिएको छ।

फेसबुक र ह्वाट्एपजस्ता अन्य सामाजिक सञ्जालका प्लाटफर्महरू ज्यादा लोकप्रिय छन्। तर, मूलधारका सञ्चारमाध्यमबाट निकालिएकाहरूको स्वाभाविक रोजाइ भने युट्युब हुने गरेको छ। (भारतमा टिकटक २०२० देखि नै बन्द छ)। भारतमा ४६ करोडभन्दा ज्यादा युट्युब प्रयोगकर्ता छन्। हरेक पाँचमध्ये चार वयष्क इन्टरनेट प्रयोगकर्ताले युट्युब हेर्छन्।

भारतका युट्युबरहरूको सफलताका लागि तीन कारण जिम्मेवार छन्। पहिलो कारण हो– यो माध्यममा निपुणता हासिल गर्नु। ध्रुव राठीका भिडिओहरू २०–३० मिनेट लामा हुन्छन्। जसलाई कुनै खास विषयको विस्तृत व्याख्याका रुपमा प्रस्तुत गरिएको हुन्छ। उनका टिप्पणीहरूको साथमा आकर्षक एनिमेसन, चार्ट र पत्रिकाका क्लिपिङ समावेश हुन्छन्। 

उनी प्रायः मोदीलाई भ्रष्टाचार काण्ड वा विवादसँग जोड्छन्। जबकि मूलधारका सञ्चारमाध्यम यसो गर्नबाट सकेसम्म बच्ने कोसिस गर्छन्। राठी उत्तेजक बन्न डराउँदैनन्। उनको पछिल्लो एउटा भिडिओमा मोदीको वाक्पटुतालाई हिटलरको वाक्पटुतासँग दाँजिएको छ। उनी आफ्ना राजनीतिक भिडिओसँगै आम मानिसको रुचि रहने यात्रालगायतका विषयमा पनि भिडिओ बनाउँछन्। उनको सबैभन्दा लोकप्रिय भिडिओमध्ये एउटा टाइटानिक दुर्घटनाका विषयमा छ।

दोस्रो कारण हो– उनीहरूले गर्ने सामाजिक सञ्जालको परिष्कृत उपयोग। उनीहरूको मुख्य मञ्च युट्युब भए पनि यी असहमत आवाजहरूले अन्यत्र पनि विशाल समर्थक जुटाएका छन्। इन्स्टाग्राम र फेसबुक दुवै गरेर राठीका १ करोड २० लाख फलोअर्स छन् भने रवीश कुमारका ९० लाख।

र, तेस्रो कारण हो– माग। मिडिया निगरानी गर्ने वेबसाइट न्युजलन्ड्रीका संस्थापक अभिनन्दन शेखरीले भनेझँै विशाल बहुमत प्राप्त गरेको भारतीय जनता पार्टीले अझै पनि एक तिहाइभन्दा अलिकति बढी मात्रै मत पाउने गरेको छ। जनसंख्याको ठूलो हिस्सा ‘अति पक्षपातपूर्ण सामग्री’ हेर्न चाहँदैन। तर, अधिकांश भारतीय न्युज च्यानल उस्तै सामग्री पस्किन्छन्। टेलिभिजन बहसहरूमा गहिरो कुरा हुँदैन, चिच्याउने प्रतिस्पर्धा मात्र चल्छ।

स्वतन्त्रहरूको आफ्नै सीमा छन्। एक जनाका लागि यो (युट्युब च्यानल चलाउने) काम ज्यादा हुन सक्छ। राठी सफल छन्। जसका कारण उनले अध्ययन तथा भिडिओ निर्माणमा सहयोगका लागि १५ जनाको टोली राख्न सकेका छन्। 

तर, रवीश कुमार लेखन, सम्पादन र भिडिओ सुटिङ गर्नमा दैनिक १५ घण्टा मेहनत गर्छन्। स्रोतसाधन अति कम भएकाले अधिकांश स्वतन्त्र प्रसारकहरू सूचनाका लागि द्वितीय स्रोतमा भर पर्छन्। र, अनलाइनमा उनीहरूको दर्शक तीव्र गतिमा बढे पनि परम्परागत न्युज च्यानलको तुलनामा उनीहरूका दर्शक निकै कम छन्। न त उनीहरू आफ्नो प्रभावको धाक लगाउनै सक्छन्। रवीश कुमार दुःख व्यक्त गर्छन्, ‘सरकारले हामीलाई ध्यान दिनै छाड्यो, मानौँ हाम्रो अस्तित्व नै छैन।’

तैपनि सरकार उनीहरूलाई लगाम लगाउने कोसिस गरिरहेको छ। गत वर्षहरूमा उसले इन्टरनेट नियमनसम्बन्धी काननु बदलेको छ। नयाँ प्रसारण विधेयक तयार हुँदैछ। जसले टीभी र अनलाइन प्लाटफर्महरूलाई नियमन गर्नेछ। स्वतन्त्र अनलाइनहरूले एउटा एड्भोकेसी ग्रुप बनाएका छन्। तर, युट्युबरहरूले सरकारी क्रोधको सामना एक्लै गर्नुपर्छ।

सरकारले आफ्ना आलोचकहरूको स्रोत नै बन्द गराउने कोसिस पनि गरिरहेको छ। गुगलका अनुसार युट्युबबाट सामग्री हटाउन गत वर्ष सरकारले २१ सय पटक आग्रह गरेको छ। अप्रिलमा बोलता हिन्दुस्तान नामक हिन्दी च्यानल गुगलको सर्त उल्लंघन गरेको आरोपमा निलम्बित भयो। सरकारी सूचनाअनुसार आफ्नो च्यानल बन्द गराइएको सञ्चालक दाबी छ, जसलाई गुगलले अस्वीकार गरेको छ। त्यही महिना नेसनल दस्तक नामक अर्को च्यानल बन्द भयो। गुगलका एक प्रवक्ताले बोलता हिन्दुस्तान पुन सुरु भएको र नेसनल दस्तकको एउटा भिडिओ मात्र ब्लक गरिएको बताएका छन्।

तर, किनाराका यी मान्छेहरू हिम्मतिला छन्। मे महिनामा मोदीको नक्कल गर्ने २९ वर्षीय कमेडियन श्याम रंगीलाले उनीविरुद्ध वराणासी सिटमा चुनाव लड्ने घोषणा गरे। तर, स्पष्ट कारण नदेखाई उनको उम्मेदवारी खारेज गरिएको छ। यद्यपि, उनले लडाइँ जारी राख्ने बताएका छन्। तेस्रो कार्यकाल सुरु गर्ने सँघारमा रहेका मोदीले अब असहमत आवाजलाई रोक्न सोचेभन्दा कठिन रहेको थाहा पाउनेछन्।

(दि इकोनोमिस्टबाट)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .