रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता अलेक्सी नभाल्नीको शव एक हप्ताभन्दा बढी समयपछि उनकी आमालाई हस्तान्तरण गरिएको छ।
नाभल्नीको यही फेब्रुअरी १६ मा आर्कटिक सर्कलको जेलमै मृत्यु भएको थियो।
नभाल्नीका प्रवक्ता किरा यार्मिशले ट्विटरमा (पहिलेको ट्विटर) मा धन्यवाद दिएकी छन्। अन्तिम संस्कार गर्न भने बाँकी रहेको उनले लेखेकी छन्।
नभाल्नीकी आमा ल्युडमिलालाई गोप्य तरिकाले अन्तिम संस्कार गर्ने सर्तमा छोराको शव दिइएको हो। नत्र शव जेलमै गाडिने भनिएको थियो।
नभाल्नीको मृत्युको कारण प्राकृतिक मृत्यु प्रमाणपत्रमा उनकी आमा ल्युडमिलालाई हस्ताक्षर गराई छोराको अन्तिम संस्कार गोप्य रूपमा गर्न सहमत गराइएको थियो।
यार्मिशले भनिन्, ‘परिवारले अन्तिम संस्कार गर्न चाहेमा प्रशासनले कुनै प्रकारले हस्तक्षेप गर्छ कि गर्दैन भन्ने हामीलाई थाहा छैन।’
यसअघि शनिबार नभाल्नीकी श्रीमती युलिया नभलनायाले भ्लादिमिर पुटिनले आफ्ना श्रीमान्को शव ‘बन्धक’ बनाएको आरोप लगाएकी थिइन् र बिनासर्त परिवारलाई बुझाउन माग गरेकी थिइन्।
भिडिओ सम्बोधनमा उनले भनेकी थिइन्, ‘मेरा श्रीमान्को शव हामीलाई सुम्पिदिनुहोस्, उहाँ जिउँदै हुँदा पनि तपाईंले यातना दिनुभयो र मरेपछि पनि त्यस्तै गरिरहनुभएको छ।’
नभलनायाले भने पुटिनले श्रीमान्को हत्या गरेको आरोप लगाएकी छन् ।
रुसी सरकारले यी आरोप अस्वीकार गर्दै बेतुकका कुरा भनेको छ।
Shares
प्रतिक्रिया