कारोबार


सरकारले दूध आयातमा लगाइएको प्रतिबन्धको कोसीमा स्वागत

सरकारले दूध आयातमा लगाइएको प्रतिबन्धको कोसीमा स्वागत

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार १३:२८, झापा

कोसी प्रदेशको डेरी उद्योग संघले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ।

संघमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो।

‘संघले सात बुँदे निर्णय गरेको छ’, संघका संयोजक रामचन्द्र उप्रेतीले भने, ‘आयात खुला रहँदा स्वदेशी उत्पादन नबिक्ने समस्या भइरहेको थियो । नेपाल सरकारले हालै आयात रोक्न गरेको निर्णयले हामी खुसी भएका छौँ।’

संघले किसानबाट खरिद गर्दै आएको दूधको भुक्तानी नियमित गर्ने निर्णय गरेको उनले जानकारी दिए। कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट संकलन गरेको दूधको भुक्तानीमा ठूलो समस्या नरहेकोसमेत उनले बताए।

कोशी प्रदेशमा रहेका डेरी उद्योगमा नौनी घ्यू, एसएमपी र छुर्पीको स्टक आवश्यकभन्दा ज्यादा भएको जनाउँदै बैठकले आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ।

बैठकमा एनएमसी डेरी उद्योग, सगरमाथा डेरी संघ, कामधेनु दुग्ध सहकारी, रितिका डेरी उद्योग, शिवम् डेरी इन्डस्ट्रिज, गोरस डेरी प्रालि, जीवन विकास डेरी र मदानी मिल्क हाउसका सञ्चालकको सहभागिता रहेको थियो।

बिक्री नभएका कारण कोशी प्रदेशका डेरी उद्योगमा पाँच लाख केजी नौनी घ्यू मौज्दातमा रहेको व्यवसायी बताउँछन् । विगत छ महिनाअघिदेखि बिक्री न्यून भएकाले नौनी घ्यू थुप्रिँदै गएको हो। उद्योगीका अनुसार दूधको उत्पादन बढेको बढ्यौं छ, तर दूध र दूधबाट बनेका विभिन्न उत्पादनको बिक्री हुन सकेको छैन।

बिक्री नभएका नौनी घ्यू चिस्यानगृहमा भण्डारण गर्न असम्भव भइसकेको छ। निजी क्षेत्रले तरकारी भण्डारणका लागि प्रयोगमा ल्याइरहेको विर्तामोडको रोयल कोल्डस्टोरलगायत झापा र मोरङका पाँच ठूला कोल्डस्टोरमा नौनी घ्यू राखिएको नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताए।

सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भित्रिएको दूध र दुग्धजन्य पदार्थले स्वदेशी उत्पादन बिक्री नभएको चिमरिया बताउँछन्। भारतमा भन्दा नेपालमा दूधको मूल्य बढी भएकाले भारतबाट लुकीछिपी दूध र पनिर भित्रिने गरेको हो।

सरकारले दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाएपछि अब भारतबाट दूध, पनिर र पाउडर दूधको आयात बन्द हुने व्यवसायीको अपेक्षा छ।

खपतभन्दा संकलन भएको दूध धेरै भएपछि कोशीका डेरी उद्योगका दूधसमेत बिक्रीमा समस्या आउन थलिसकेको छ। दूध बिक्न छाडेपछि कोशी प्रदेशमा अधिकांश डेरीले ‘मिल्क होलिडे’ गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .