अस्ट्रेलियामा जन्मेकी म्यारी डोनाल्डसन जनवरी १४ देखि डेनमार्ककी रानी बन्दैछिन्। उनका पति युवराज फ्रेडरिक आफ्नी आमाले गद्दीत्याग गरेपछि राजा हुन लागेका हुन्। यससँगै युवराज्ञी म्यारीको परीकथातुल्य कहानी यथार्थमा बदलिनेछ।
म्यारी ५ फेब्रुअरी १९७२ मा अस्ट्रेलियाको होबार्टमा जन्मेकी हुन्। उनले सन् २००० को ओलम्पिकका बेला सिड्नीको स्लिप इन बारमा आफ्नो भविष्यको श्रीमान भेटेकी थिइन्। त्यसबेला उनी एक विज्ञापन कम्पनीमा काम गरिरहेकी थिइन्।
केही समयपछि मात्रै उनले थाहा पाइन्, बारमा भेटिएका व्यक्ति डेनमार्कका युवराज हुन्। र, उनका साथीहरु युरोपका अरु शाही परिवारका सदस्य हुन्।
‘पहिलो पटक भेट हुँदा हामीले हात मिलायौँ,’ एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘उनी डेनमार्कका युवराज हुन् भन्ने मलाई थाहा थिएन। आधा घण्टापछि एकजनाले आएर सोधे, ‘यिनीहरु को हुन् थाहा छ?’
केही समय गुपचुप ‘लङ डिस्ट्यान्स रिलेसनसिप’ र आवातजावतपछि अक्टाबेर २००३ मा उनीहरुबीच ‘इन्गेजमेन्ट’ भयो।
उनीहरुले १४ मे २००४ मा कोपनहेगन क्याथाड्रलमा विवाह गरे।
अहिले उनीहरु चार सन्तानमा मातापिता भइसकेका छन्। राजकुमार क्रिस्टियन, १८, एकदिन राजा हुनेछन्। अरु सन्तानमा राजकुमारी इजाबेला १६ वर्षकी भइन् भने जुल्याहा राजकुमार–राजकुमारी भिन्सेन्ट र जोसेफिन अर्को साता १३ वर्ष लाग्नेछन्।

आइतबार नयाँ वर्षको सम्बोधनका क्रममा रानी मार्गरिटा द्वितीयले गद्दीत्यागको घोषणा गरिन्। उमेर र स्वास्थ्यका कारण अब गद्दी छोरालाई छाड्ने उनको भनाइ थियो।
यसले थुप्रै चकित तुल्याएको छ। किनभने यी रानीले गएका वर्षहरुमा बारम्बार आफूले गद्दीत्याग नगर्ने बताउँदै आएकी थिइन्।
हाल युरोपमा सबैभन्दा लामो समय शासन गरिरहेकी रानी हुन् उनी। उनले शासन चलाएको ५२ वर्ष पुगेको छ।
अब बन्ने रानी म्यारीले सुरुदेखि नै डेनमार्कका नागरिकहरुको मन जितिन्। खासगरी डेनिस भाषा छिट्टै सिकेर उनले आम नागरिकलाई प्रभावित तुल्याइन्।
एक टेलिभिजनले डिसेम्बरमा सार्वजनिक गरेको सर्वेक्षणमा उनी रानी र पति फ्रेडरिकपछि तेस्रो सबैभन्दा लोकप्रिय शाही परिवार सदस्य रहेको बताइएको छ।

प्रायः उनको तुलना बेलायतकी युवराज्ञी केटसँग हुने गरेको छ। खासगरी उनको फेसन र कालो कपालका कारण। उनी डेनिस र अन्तर्राष्ट्रिय म्यागजिनहरुमा छाइरहन्छिन्।
उनी धाकधम्की, घरेलु हिंसा र सामाजिक अलगावविरुद्धको काममा सक्रिय हुनुका साथै मानसिक स्वास्थ्य र महिला अधिकार प्रबर्द्धन पनि गर्छिन्।
म्यारी र फ्रेडरिकलाई पप संगीत, आधुनिक कला र खेलकुद मन पराउने जोडीका रुपमा लिइन्छ।
उनीहरुले आफ्ना चार सन्तानलाई पनि सरकारी स्कुल पठाएर साधारण जीवनशैली सिकाउने प्रयास गरेका छन्।
उनीहरुका पहिलो सन्तान राजकुमार क्रिस्टियन डे केयर जाने डेनमार्कको शाही परिवारका पहिलो सदस्य थिए।
म्यारी पति र बालबच्चासहित बारम्बार अस्ट्रेलिया जान्छिन्। जहाँको सञ्चारमाध्यमले उनको गतिविधिलाई चाखपूर्वक पछ्याउने गर्छ। एएफपी
Shares

प्रतिक्रिया