विश्वचर्चित ग्लक पेस्तोलका आविष्कारक तथा अस्ट्रियन इन्जिनियर ग्यास्टन ग्लकको निधन भएको छ। उनी ९४ वर्षका थिए।
ग्लक कम्पनीले सो जानकारी दिएको हो।
ग्लक पेस्तोल विश्वभरका थुप्रै सशस्त्र बल, सुरक्षा अधिकारी र अपराधीहरुले प्रयोग गर्दै आएका छन्।
द म्याट्रिक्स रिलोडेडजस्ता प्रसिद्ध हलिउड फिल्महरुमा यो पेस्तोल प्रयोग गरिएपछि यसबारे थप चर्चा चुलिएको थियो।
उनले बनाएको पेस्तोल चर्चित भए पनि अर्बपति ग्लक विरलै चर्चामा रहे। उनले अधिकांश समय अस्ट्रियामा तालको किनारमा बनेको आफ्नो घरमा बसेर बिताए।
उनको व्यवसायबारे २०१२ मा पुस्तक प्रकाशित हुँदा, २०११ मा पहिली पत्नीसँग सम्बन्धविच्छेद हुँदा र १९९० को दशकमा आफ्नै व्यावसायिक साझेदारले उनको हत्या गर्न खोज्दा मात्र उनी समाचारमा छाए।
उनका ती साझेदारले एक व्यावसायिक रेसलरलाई उनको हत्याका लागि खटाएका थिए। जसले रबरको घनले ७० वर्षीय ग्लकको टाउकोमा ७ पटक हानेका थिए। तर, ग्लकले ती रेसलरलाई पिटेर बेहोस बनाई आफ्नो ज्यान जोगाएका थिए।

१९२९ मा जन्मेका ग्लकले इन्जिनियरिङ अध्ययनपछि उपभोग्य सामग्रीहरुको व्यवसाय सुरु गरेका थिए। उनको व्यवसायले १९८० को दशकमा सैन्य सामग्री आपूर्तिको काम गरिरहेको थियो।
एक पटक अस्ट्रियन सेनाले आधुनिक पेस्तोलको खोजी गरिरहेको थाहा पाएपछि उनले ९ मिलिमिटरको अर्धस्वचालित ग्लक पेस्तोल डिजाइन गरे। जसले १८ राउन्ड गोली प्रहार गर्न सक्थ्यो भने सजिलै रिलोड पनि हुन्थ्यो।
यो पेस्तोल चाँडै विश्वभरका सैनिक र प्रहरी अधिकारीहरुका लागि प्रिय बन्न पुग्यो।
फोर्ब्सले २०२१ मा ग्लकको सम्पत्ति १.१ अर्ब डलर रहेको अनुमान गरेको थियो।
२००३ मा इराकी राष्ट्रपति सद्दाम हुसेनलाई अमेरिकी सेनाले पक्राउ गर्दा उनीसँग पनि एउटा ग्लक पेस्तोल फेला परेको थियो।
ग्लकका पत्नी, एक छोरी र दुई छोरा छन्। एजेन्सी
Shares

प्रतिक्रिया