इरानले इजरायल र अमेरिकाको साइबर हमलाको सामना गर्नुपरेको जनाएको छ।
सोमबार भएको साइबर हमलाका कारण ६० प्रतिशत पेट्रोल स्टेशनमा इन्धन वितरण अवरुद्ध भएको इरानले जनाएको छ।
तेलमन्त्री जवाद ओजीले सरकारी टिभीलाई भने, ‘देशभर केही ग्यास स्टेसनमा साइबर हमला भएको छ र इन्धन वितरण बन्द भएको छ।’
उनले उक्त हमलाका लागि बाहिरी शक्तिलाई दोष दिँदै भने, ‘यहुदीवादी (इजरायल) र अमेरिकाले अन्य मोर्चामा झट्का लागेपछि समस्या सिर्जना गर्न खोजे।’
यसअघि उपतेलमन्त्री जलिल सलारीले इरानी जनताले अनुदानमा पेट्रोल खरिद गर्न प्रयोग गर्ने कार्डमा केही समस्या रहेको बताएका थिए।
प्रमुख तेल उत्पादक इरान विश्वमा सबैभन्दा सस्तो पेट्रोलको मूल्यमध्येको एक मुलुक हो।
यहाँ एउटा कार्डले इरानीहरूलाई १५ हजार रियाल (करिब तीन अमेरिकी सेन्ट) प्रतिलिटर सहुलियतदरमा प्रतिमहिना ६० लिटरसम्म खरिद गर्न अनुमति छ।
उपतेलमन्त्री सलारीका अनुसार प्रणाली असफल भएपछि पेट्रोल स्टेशनहरूले ‘अनलाइन प्रणालीलाई विच्छेद गरेका छन्।’
अहिले इन्धनको अफलाइन आपूर्ति भइरहेको छ। एएफपी संवाददाताका अनुसार सोमबारको अवरोधका कारण तेहरानमा केही स्टेशनबाहिर कारको लामो लाइन लागेको छ।
इरानका राष्ट्रपति इब्राहिम राइसीले अनुसन्धान गर्न आदेश दिँदै संकट समधानका लागि ‘तत्काल उपाय’ अपनाउन आग्रह गरेका छन्।
अधिकारीहरूले ‘सङ्कट समिति’ गठन गरेका छन्। मन्त्री सलारीले प्रणाली केही घण्टाभित्र ठिक हुनसक्ने अपेक्षा जनाए।
सन् २०२१ अक्टोबरमा इरानले यस्तै प्रकारको एक साता लामो अवरोधको सामना गर्नुपरेको थियो। त्यसका लागि अधिकारीहरूले बाहिरी शक्तिको साइबर हमलालाई दोष दिएका थिए।
अनुदान प्रणालीमा सुधार र ठूलो मात्रामा तस्करीमाथि नियन्त्रण गर्ने उद्देश्यले इरानमा पहिलो पटक सन् २००७ मा इन्धन कार्ड लागु गरिएको थियो।
इरानको अर्थतन्त्र आन्तरिक अव्यवस्थापन र बाहिरी दबाबका कारण थला परेको छ। सन् २०१८ मा अमेरिका ऐतिहासिक आणविक सम्झौताबाट फिर्ता भएको थियो र केही वर्षका लागि हटाइएको प्रतिबन्धलाई उसले पुनः लागु गरेको छ।
इरानी सरकारले उसको कट्टर दुश्मन इजरायलमाथि उसको आणविक कार्यक्रमलाई लक्षित गरी आक्रमण र हत्या गरेको आरोप लगाएको छ।
अमेरिका र इजरायलले इरानमाथि यस क्षेत्रमा मित्र देशहरूको सेना र जहाजविरुद्ध हमला गराएको आरोप लगाएका छन्।
रासस/एजेन्सी
Shares

प्रतिक्रिया