उत्तरी पाकिस्तानमा ढुंगामा कुँदिएका र कोरिएका बौद्ध धर्मसँग सम्बन्धित हजारौँ प्राचीन कलाकृति भेटिएपछि त्यसको संरक्षण प्रयास थालिएको छ।
उक्त क्षेत्र कुनै बेलाको सिन्धु घाँटी सभ्यताको उपल्लो भागमा पर्छ। त्यहाँ खरोष्ठी, ब्राह्मी, सूत्र र चिनियाँलगायतका लिपिमा प्राचीन शिलालेखसमेत पाइएका छन्।
यहाँ प्राप्त पुरातात्त्विक महत्त्वका सम्पदामा चिनियाँ सम्बन्धसमेत भेटिएपछि चीनका प्राज्ञ तथा पुरातत्वविद्ले यसको संरक्षणका लागि मानवजातिकै जिम्मेवारी रहेको बताउँदै पाकिस्तानसँग सहकार्य गरेका छन्।

चिनियाँ र पाकिस्तानी विश्वविद्यालय र पुरातत्व निकायले त्यसको संरक्षणका लागि तीन वर्ष स्थानीय तहमा काम गर्ने योजना बनाएका छन्।
सय किलोमिटर लामो उक्त प्राचीन मार्गमा ५० हजारभन्दा धेरै कलाकृति एवं पाँच हजारभन्दा धेरै शिलालेख भेटिएका छन्।
ती कलाकृति उक्त प्राचीन मार्गमा यात्री, व्यापारी, तीर्थयात्री र तथा स्थानीय बासिन्दाले ईशापूर्व ५००० देखि सन् १००० बीचमा बनाएको ठानिन्छ।

तिनले त्यसबेलाका जीवन र विश्वासबारे धेरै कुराहरू बताउने विज्ञहरूले बताएका छन्। उक्त मार्ग प्राचीन रेशम मार्गमा समेत पर्ने भएकाले त्यससँग व्यापक मानव सभ्यताको सम्बन्ध खोज्न सकिने विज्ञहरूको विश्वास छ। ती कतै खुला जमिनमै वा उत्खननका क्रममा भेटिएका छन्।
सन् १९८० को दशकदेखि नै विभिन्न देशका विज्ञहरूले त्यस क्षेत्रमा प्राचीन महत्त्वका त्यस्ता कलाकृति रहेको कुरा सङ्केत गर्दै आएका थिए। तर पछिल्लो समय त्यस क्षेत्रमा ठूला पूर्वाधार परियोजना बन्न थालेपछि व्यापक मात्रामा देखिन थालेका हुन्।



Shares

प्रतिक्रिया