रहेनन् नेपाललाई हङकङदेखि मकाउ हुँदै चीनसम्म जोड्ने व्यवसायी प्रमोद घिमिरे

रहेनन् नेपाललाई हङकङदेखि मकाउ हुँदै चीनसम्म जोड्ने व्यवसायी प्रमोद घिमिरे

विपेन्द्र घिमिरे
मंसिर २१, २०८० बिहिबार १२:८,

नेपाललाई हङकङदेखि मकाउ हुँदै चीनसम्म जोड्ने सफल व्यवसायी प्रमोद घिमिरेको मंगलबार (५ डिसेम्बर) निधन भएको छ।

पछिल्लो समय चीनको गोन्झाओमा रहेर व्यवसायमा सक्रिय घिमिरेलाई मंगलबार दिउँसो श्वासप्रश्वासमा कठिनाइ भएपछि अस्पताल भर्ना गरिएको थियो। घिमिरेको कार्डियक अरेस्टका कारण मृत्यु भएको जानकारी अस्पतालले दिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनका अध्यक्ष निर्मल शर्मा चौलागाईंले नेपालखबरलाई बताए।

घिमिरे सन् ९० को दशकमा रोजगारीको सिलसिलामा हङकङमा आएका थिए। हाल हङकङमै रहेका घिमिरेका समकालीन दीलिपसिंह गुरुङका अनुसार घिमिरेले हङकङमा रेस्टुरेन्ट कामदारका रूपमा काम सुरु गरेका हुन्। पछि पेय पदार्थको डिलर खोले र व्यावसायिक करिअरको सुरुआत गरे। व्यापारकै सिलसिलामा उनी मकाउ हुँदै चीनसम्म पुगेका हुन्।

हङकङपछि घिमिरे मकाउ पुगेर व्यवसाय गरेका थिए। मकाउमा लामो समयदेखि बसोबास गर्दै आएका एक नेपालीका अनुसार घिमिरेले मकाउमा सञ्चालन गरेको रेस्टुरेन्ट नेपालीद्वारा सञ्चालित मकाउकै दोस्रो हो।

उनको स्मरणमा मकाउमा नेपालीको पहिलो रेस्टुरेन्ट ‘काठमाडौँ रेस्टुरेन्ट’ हो। त्यसपछि उनी नै दोस्रो नेपाली हुन्, जसले मकाउमा रेस्टुरेन्ट खोले। ‘नमस्ते रेस्टुरेन्ट’ नामको उक्त रेस्टुरेन्ट ताइपामा थियो।

‘त्यहाँ निकै मिठो खाना पाइन्थ्यो। खाना खानेको निकै भिड लाग्थ्यो। यसले मकाउमा नेपाली परिकारको निकै प्रचारप्रसार गर्‍यो,’ मकाउ जक्की क्लबमा कार्यरत ती नेपाली भन्छन्।

रेस्टुरेन्ट मात्र होइन, घिमिरेले मकाउमा किराना पसल पनि सञ्चालन गरे।

‘सन् २००६/२००७ तिरको कुरा हो। ठूलो, राम्रो किराना पसल थियो, ‘इन्डो’ नाम गरेको। लगभग सबै कुरा पाइने,’ ती नेपाली भन्छन्, ‘सायद मकाउमा नेपालीको यो नै पहिलो किराना पसल हुनुपर्छ।’

मकाउपछि घिमिरे चीन पुगेका थिए। पछिल्लो समय चीनको गोन्झाओमा रहेर दर्बिलो व्यावसायिक छवि बनाएका उनी सफल व्यवसायीका रूपमा चिनिन्छन्।

गोन्झाओमा घिमिरेको ‘लिटिल पापा’ नेपाली रेस्टुरेन्ट सञ्चालित छ। उनको यो रेस्टुरेन्टको चीनका विभिन्न सहरमा शाखा पनि रहेका छन्।

चीनको ग्वाङदोङ प्रदेशमा रहेको ग्वाङझाउमा दुई वटा, सेन्चेनमा एउटा, फुजेन प्रदेशमा पर्ने फुजोउमा एउटा र हाइनान प्रदेशमा एउटा शाखा सञ्चालनमा छ।

 सफल व्यावसायिक छवि बनाएका यिनै घिमिरेको मंगलबार (५ डिसेम्बर) दिउँसो ६० वर्षको उमेरमा निधन भएको हो।

एनआरएनए चीनका अध्यक्ष चौलागाईंले व्यवसायी घिमिरेको मंगलबार दिउँसो ३ बजे (चिनियाँ समय) निधन भएको बताए।

चौलागाईंलाई रेस्टुरेन्टका कर्मचारीले बताएअनुसार घिमिरेले मंगलबार बिहान ११ बजेतिर अप्ठेरो महसुस भएको भन्दै ती कर्मचारीसँग पानी मागेका थिए।

त्यसपछि पेट फुल्दै गएको र बान्ता गर्न थालेपछि तुरुन्तै एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो।

एम्बुलेन्स आउँदासम्म होसमै रहेका घिमिरे त्यसपछि अचेत भएका थिए।

दिउँसो करिब १ बजेको आसपास ग्वाङदोङ प्रोभिन्स ट्रेडिसिनल चाइनिज मेडिसिन अस्पतालमा पुर्‍याइएका उनलाई बचाउने प्रयास सफल हुन सकेन।

चिनियाँ समयअनुसार मंगलबार दिउँसो ३ बजे अस्पतालले घिमिरेलाई मृत घोषित गरेको हो। यद्यपि, अस्पताल पुगेको १ घण्टाको हाराहारीमा मौखिक सूचना भने पाइसकेको चौलागाईं बताउँछन्।

अस्पतालले घिमिरेको मृत्युको कारण कार्डियक अरेस्ट उल्लेख गरेको छ।

चिकित्सकीय परिभाषाअनुसार कार्डियक अरेस्ट भनेको अचानक र अप्रत्याशित रूपमा मुटुको क्रियाशीलतामा कमी आउनु हो। यस्तो हुँदा मुटुले शरीर र मस्तिष्कमा रगत पास गर्न बन्द गर्छ। जसको असरले मानिसलाई श्वासप्रश्वासमा समस्या ल्याउनुका साथै चेतना शक्तिमा ह्रास गराउँछ।

घिमिरे हाइब्लड प्रेसर र चिनीरोग (सुगर)को बिरामी भए पनि अन्य कुनै रोग भएको थाहा नपाएको अध्यक्ष चौलागाईं बताउँछन्।

घिमिरे अघिल्लो दिन राति ९/१० बजेसम्म पनि रेस्टुरेन्टमै थिए भने ३ तारिख मात्र बेइजिङबाट गोन्झाओ फर्केका थिए।

उनको ‘लिटिल पापा’ रेस्टुरेन्ट इन्डियन–नेपाली रेस्टुरेन्ट हो।

घिमिरे गोन्झाओमा रेस्टुरेन्ट व्यवसायीमा मात्र सीमित थिएनन्।

उनले नेपालबाट नेपाली उत्पादन चीन मगाएर त्यहाँका बजारमा सप्लाइ पनि गर्ने गरेका थिए।

ह्वाइट ग्रिन टी लगायतका नेपाली चिया, नेपाली स्प्रिङ वाटर, ह्यान्डी क्राफ्टका सामग्रीलाई चीनमा ‘प्रमोट’ गर्ने गरेको अध्यक्ष चौलागाईंले बताए।

‘नेपाली मान्छे होस् वा उत्पादन उहाँ एकदम प्रमोट गर्नुहुन्थ्यो,’ अध्यक्ष चौलागाईं भन्छन्, ‘हामीले कमाएको पैसा र सीप नेपाल लैजानुपर्छ भन्नुहुन्थ्यो।’

चिनियाँलाई नेपालमा लगानी गर्ने वातावरण बनाउन घिमिरे सधैँ लागिपर्ने गरेका थिए। कुनै औपचारिक कार्यक्रममा बोल्दा मात्र होइन, व्यक्तिगत रूपमा नेपालीहरूसँग कुरा हुँदा पनि घिमिरेको यही आशय हुने गर्थ्यो।

एक हप्ताअघि मात्र आफूसँग चिनियाँ लगानीकर्ता नेपाल जान इच्छुक रहेको र त्यसको लागि संस्थागत रूपमै काम गर्न प्रस्ताव राखेको अध्यक्ष चौलागाईं स्मरण गर्छन्।

नेपालको अर्घाखाँचीमा जन्मिएका घिमिरेको सम्भवतः सोमबार अन्त्येष्टि हुनेछ।

‘नेपाल, अस्ट्रेलिया, यूके लगायतका देशबाट परिवारका सदस्य आउँदै हुनुहुन्छ। सबै जना आइतबारसम्म आइपुग्नुभयो भने सम्भवतः सोमबार अन्त्येष्टि हुन्छ,’ अध्यक्ष चौलागाईंले भने।

घिमिरेको ग्वाङझोङ फ्युनरल हाउसमा अन्त्येष्टि हुनेछ। 

नेपाललाई हङकङ, मकाउ हुँदै चीनसम्म जोड्न सफल व्यवसायी घिमिरेले यहाँका नेपाली समुदायका साथै समग्र नेपालीलाई नै टुहुरो बनाएर अनन्त यात्रा तय गरेका छन्।

सन् १९६३ मा जन्मिएका घिमिरे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका सदस्य पनि हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .