ad ad

ग्लोबल


इजरायलको तेल ट्यांकर यमननजिक कब्जा

इजरायलको तेल ट्यांकर यमननजिक कब्जा

नेपालखबर
मंसिर १०, २०८० आइतबार २०:४४, काठमाडौँ

इजरायलको एउटा ट्यांकर यमनको तटनजिकै नियन्त्रणमा लिइएको छ।

एएफपीले अमेरिकी सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। यो ट्यांकर अज्ञात बन्दुकधारीले नियन्त्रणमा लिएका हुन्। 

यसअघि पनि यस ढुवानी मार्गमा यस्ता धेरै घटना भएका छन्। 

एएफपीले सामुद्रिक सुरक्षा कम्पनी एम्ब्रेलाई उद्धृत गर्दै भनेको छ- अमेरिकी नौसेनाहरू यस्तो अवस्थामा सक्रिय छन्।

अमेरिकी अधिकारीहरूले घटनामा निगरानी राखिएको बताएका छन्।

यो घटना सेन्ट्रल पार्क नामक तेल ट्यांकरसँग भएको हो। इजरायलको यो ट्यांकर बेलायतको एउटा कम्पनीले सञ्चालन गरेको हो।

यमनका इरान समर्थित हुथी विद्रोहीले ट्यांकरलाई होडेडा बन्दरगाहतर्फ आउन आग्रह गरेका थिए र आदेश पालना नगरे आक्रमण गर्ने धम्की दिएका थिए।

एएफपीका अनुसार सुरक्षा फर्म एम्ब्रेले अमेरिकी गठबन्धनमा समावेश भएका युद्धक विमानहरूले सेन्ट्रल पार्कमा सन्देश पठाएको र हुथीहरूको सन्देशलाई बेवास्ता गर्न आग्रह गरेको बताएको छ।

यमनको बन्दरगाह सहर अडेननजिकै मानिसहरु यो ट्यांकरमा चढेको एम्ब्रेले बताएको छ।

यसअघि बिहीबार राति भएको ड्रोन आक्रमणमा इजरायलको एउटा कार्गो जहाजमा क्षति पुगेको थियो। अमेरिकी अधिकारीहरूले यो हमला इरानद्वारा निर्मित शाहेद–१३६ ड्रोनले गरेको दाबी गरेका छन्।

यस जहाजमा भएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।

गत हप्ता हुथी विद्रोहीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित कार्गो जहाज कब्जा गरेका थिए। हुथी विद्रोहीले यो जहाज कब्जा गरेको भिडिओ पनि सेयर गरेका थिए।

हुथी विद्रोहीहरूले यस क्षेत्रमा यात्रा गर्ने इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएका थिए।

गत अक्टोबर ७ मा गाजामा शासन गर्ने प्यालेस्टिनी समूह हमासले इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १२ सयभन्दा बढी इजरायली मारिएका थिए।

जवाफमा इजरायलले गाजामा निरन्तर बमबारी गरिरहेको थियो। गत शुक्रबारदेखि भने चार दिनका लागि युद्धविराम गरिएको छ।

इजरायली आक्रमणबाट अहिलेसम्म १४ हजार ८ सयभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन्। 

हुथी विद्रोहीहरूले प्यालेस्टिनीको समर्थनमा इजरायलसँग सम्बन्धित जहाजविरुद्ध यो कारबाही गरिरहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .