ad ad

ग्लोबल


अस्थायी युद्धविरामले इजरायललाई भन्दा हमासलाई के हुन्छ बढी फाइदा?

अस्थायी युद्धविरामले इजरायललाई भन्दा हमासलाई के हुन्छ बढी फाइदा?

हमास लडाकु


नेपालखबर
मंसिर १०, २०८० आइतबार १०:३४, काठमाडौँ

इजरायल र हमासबीच बहुप्रतिक्षित अस्थायी युद्धविराम सम्झौता भएको आज तेस्रो दिन हो। 

युद्धविरामको दोस्रो दिन शनिबार साँझसम्म हमासले ४१ जना बन्धकलाई छाडिसकेको छ भने सट्टामा इजरायलले ७८ प्यालेस्टिनी कैदीबन्दीलाई रिहा गरेको छ।  

युद्धविरामको पहिलो दिन शुक्रबार हमासले २३ इजरायलीसहित २४ बन्धकलाई रिहा गरेको थियो भने इजरायलले आफ्ना जेलमा थुनिएका ३९ प्लालेस्टिनीलाई छाडेको थियो। 

यस्तै युद्धविरामको दोस्रो दिन शनिबार हमासले १३ इजरायलीसहित १७ बन्धकलाई रिहा गरेको छ। जसमा चार जना थाई नागरिक छन्। यसको साटोमा इजरायलले पनि ३९ प्यालेस्टिनी कैदीलाई जेलमुक्त गराएको छ। 

यो चारदिने युद्धविराममा दैनिक दुई सय ट्रक राहत सामग्री, चार ट्रक इन्धन र र अन्य चारवटा ट्रक गाजामा प्रवेश गर्न दिने सम्झौता छ। 
यस अवधिमा दुवै पक्षले एकअर्कालाई आक्रमण नगर्ने सहमति छ। 

तर हमासले इजरायलले सहायता बोकेका ९७ ट्रकलाई उत्तरी गाजा जानबाट रोकेको र दक्षिणी गाजामा ड्रोन उडाएको आरोप लगाएको छ। इजरायलले भने आफूले सम्झौता उल्लंघन गरेको आरोप अस्वीकार गरिरहेको छ। 

यो युद्धविराम हमासका लागि रणनीतिक फाइदा पनि हो। यसले हमासलाई हप्तासम्म चलेको भयंकर युद्धबाट पुनःस्थापित हुन मद्दत गर्नेछ, किनभने यस क्रममा हमास इजरायली आक्रमणमा फसेको थियो भने उसले धेरै क्षति बेहोर्नुपरेको थियो।

यसमा कुनै शंका छैन कि हमासले यो समयलाई आफ्नो चेन अफ कमान्ड पुनःस्थापित गर्न र आफ्ना लडाकुलाई त्यस्ता ठाउँमा तैनाथ गर्न प्रयोग गर्नेछ, जहाँबाट इजरायली सेनालाई बढीभन्दा बढी क्षति पुर्‍याउन सकिन्छ।

अर्काे विशेष कुरा के छ भने युद्धविरामले उनीहरूलाई बाँकी बन्धकलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने गर्ने मौका पनि दिनेछ, जहाँ उनीहरूलाई भेट्टाउन इजरायललाई अझ गाह्रो हुनेछ।

छोटकरीमा भन्नुपर्दा यसबाट कुनै अन्य घोषित लाभ नभए पनि बन्धक रिहाइ सम्झौताबाट हमासलाई महत्त्वपूर्ण रणनीतिक र सामारिक फाइदा हुनेछ। 

यो अस्थायी युद्धविरामले बन्धक र उनीहरूका परिवारहरूका लागि निकै खुसीको कुरा हो भन्नेमा दुईमत छैन, तर सँगसँगै अर्काे तीतो सत्य के हो भने छुट्न बाँकी रहने बन्धकहरूको रिहाइ भने अझ गाह्रो र महँगो हुनेछ।

बन्धक रिहाइबाट हमासलाई फाइदा?
चारदिने अस्थायी युद्धविरामले दुवै पक्षलाई अहिलेको द्वन्द्वबाट पक्कै केही राहत दिएको छ। तर यसको अर्थ के होइन भने यो संकटको अन्त्य वा अन्त्यको सुरुवात होइन।

यसले हमासलाई धेरै तरिकाले फाइदा पुर्‍याउन सक्छ।

यी चार दिनमा हमासले बन्धक बनाएका धेरै जना वृद्ध, महिला र बालबालिकाको रिहाइ इजरायलीका लागि ठूलो राहतको विषय हो।

यसको अर्थ के पनि हो भने हमासले ५० भन्दा बढी बन्धकलाई आफ्नो नियन्त्रणमा राख्न पाउँछन्। उनीहरूको लागि ठूलो संख्यामा बन्धक राख्ने चुनौती लिनुभन्दा यसको संख्या घटाउने सम्झौता बढी लाभदायक साबित हुनसक्छ।

२४० जना बन्धकहरू राख्नु कुनै पनि संगठनका लागि ठूलो बोझ हो। यी बन्धकलाई निरन्तर सुपरिवेक्षण, निगरानी र आवश्यक भएमा एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने पनि हुन्छ। तिनमा वृद्ध, बिरामी वा कुनै विशेष उपचार आवश्यक भएका व्यक्ति छन् भने स्थिति अझ जटिल बन्छ। 

विशेष हेरचाह गर्नुपर्ने खालका व्यक्तिहरूलाई रिहा गरेर हमासले कुनै उदारता देखाइरहेको होइन, बरु उनीहरूका लागि खर्च गर्नुपर्ने स्रोत साधन बचाएर अन्य जरुरी काममा प्रयोग गर्ने रणनीति अपनाइरहेका हुन्। 

यो विशेषगरी थाइल्यान्ड र नेपालका गरी करिब दुई दर्जन मानिसको मामिलामा सत्य हो, जसलाई बन्धक बनाउनु हमासका लागि कुनै रणनीतिक महत्त्वको विषय होइन, किनभने उनीहरू न इजरायली हुन्, न त यहुदी नै।

अर्को कुरा, यो सम्झौता उनीहरूलाई बाँकी बन्धक कब्जामै राख्न ‘सजिलो तर्क’ प्राप्त हुनेछ। किनभने तीमध्ये धेरैजसो इजरायली सैनिक छन् वा लड्ने उमेरका छन्।

यसपछि हमासले तर्क गर्नेछ– बाँकी बन्धकहरू ‘शत्रु सैनिक’ वा युद्धबन्दी हुन्। र, यसले इजरायली सरकारलाई सट्टामा प्यालेस्टिनी बन्दी रिहा गर्न दबाब बढ्नेछ। 

जस्तो कि विगतमा इजरायल केही इजरायली सैनिकको सट्टामा सयौँ प्यालेस्टिनी बन्दी रिहा गर्न राजी भएको थियो र एकपटक हजारौँ जनालाई रिहा गरेको थियो।

हमासले अब इजरायली जेलमा रहेका आफ्ना हजारौँ सदस्यलाई रिहा गर्न माग गर्नेछ।

लन्डनस्थित किंग्स कलेजका सुरक्षा अध्ययनका प्राध्यापक पिटर आर न्युम्यानले बीबीसीमा लेखेको लेखको भावानुवाद। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .