ग्लोबल


रातभर नदीमाथि झुन्डिएको केबलकारबाट ८ जनाको १४ घण्टापछि उद्धार

रातभर नदीमाथि झुन्डिएको केबलकारबाट ८ जनाको १४ घण्टापछि उद्धार

नेपालखबर
भदौ ६, २०८० बुधबार १०:५६, काठमाडौँ

पाकिस्तानमा ९०० फिटको उचाइस्थित केबलकारमा फसेका सबै ८ जनाको सकुशल उद्धार गरिएको छ। पाकिस्तानको खैबर पख्तुनख्वामा नदीमाथि झुन्डिरहेको केबलकारबाट बुधबार बिहान ६ जनालाई उद्धार गरिएको हो।

यो उद्धार अपरेशन १४ घण्टासम्म चलेको हो। केबलकारमा ६ स्कुले बालिका र २ शिक्षक फसेका थिए। यी सबैजना अन्य दिनको जस्तै स्कुल गइरहेका थिए। केबलकार अड्केको तल गहिरो नदी थियो, जहाँ वर्षाका कारण बाढी आइरहेको थियो।

यिनमा २ जनाको मंगलबार राति नै उद्धार गरिएको थियो। तर तीव्र वर्षात् र अँध्यारोका कारण राति उद्धार अभियान रोकिएको थियो। 

बुधवार सबेरै बिहान उद्धार अभियान फेरि सुरु भयो। पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवार उल हक काकडले खैबर सरकार र फौजलाई तीव्र गतिमा उद्धार अभियान चलाउन भनेका थिए।

‘जियो न्युज’ का अनुसार जुन केबलमा मंगलबार बिहानदेखि कार फसेको थियो, त्यसैमा अर्को सानो कार लगाइएको थियो।

जसमा फसेका बालबालिका र शिक्षकलाई खाना र पानी पठाइएको थियो। त्यसपछि दुवै केबललाई बिल्कुल करिब ल्याएर एक-एक  गर्दै सुरुमा दुईजनालाई निकालियो। तर विज्ञहरुले यो विधिलाई एकदमै खतरानक र जोखिमयुक्त भनेका छन्।

यसअघि नै केबलमा क्षति पुगिसकेको थियो। यदि केबलमा धेरै बल गरियो भने जोगिएको तार पनि चुँडिने सम्भावना थियो। उद्धार टोलीका अनुसार अन्य सबै उपायले काम नगरेपछि यो खतरनाक विकल्प रोजिएको हो। 

मंगलबार यहाँका दुई शिक्षक र ६ विद्यार्थी स्कुलका लागि निस्किएका थिए। उनीहरु दैनिक यसै केबलकारबाट नदी पार गरेर विद्यालय आउने जाने गर्छन्।

यस केबल कारलाई एक निजी कम्पनीले चलाउँथ्यो।  मंगलबार बिहान केबल कार जब नदीको सिधा माथि पुग्यो तब यसमा लागेको तार एक पटक चुँडिएर मोडिन पुग्यो। त्यहीकार कार नदीमाथि नै झुन्डिएर रोकियो। त्यसपछि उद्धारका लागि दुई हेलिकोप्टर पनि पठाइएको थियो। 

केबल कारमा फसेका एक शिक्षकले घटनाबारे फोन गरेर बताएका थिए। उनले एक नभई दुई तार छिनेको बताएका थिए। केबलकारमा फसेका शिक्षक जफर इकबालले यस क्षेत्रमा यसैगरी दैनिक १५० बालबालिका स्कुल जाने गरेको बताए। यस क्षेत्रमा सडक र पुल पनि नहुँदा केबलकार विकल्प भएको छ।

‘जियो न्युज’ सँगको कुराकानीका क्रममा पाकिस्तान एयरफोर्सका पूर्व पायलट सैयद जावेदले केबलकारमा फसेकाको उद्धारका लागि चलाइएको अपरेशनलाई नै खतरनाक भनेका छन्। उनले हेलिकप्टरको पंखाबाट तीव्र गतिको हावा निस्किँदा केबलकारका अन्य तार पनि चुँडिने जोखिम हुने बताए। 

हेलिकप्टरले सफा मौसममा मात्रै उद्धार अभियान चलाउन सक्छन्।  तर मौसम खराब हुँदा हेलिकोप्टरले पनि केही गर्न सक्दैनन्। त्यहीकारण अर्को सानो केबलकार पठाएर खतरनाक उद्धार अभियान सफल बनाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .