युक्रेन युद्धका विषयमा छलफल गर्न साउदी अरबले शिखर बैठक आयोजना गरेको छ। सो बैठकमा ४० देशका प्रतिनिधि सहभागी छन्। तर, रुस भने सहभागी छैन।
भेलाले युक्रेन युद्ध समाप्त पार्ने विषयमा प्रमुख सैद्धान्तिक आधारहरुको मस्यौदा तयार गर्ने बताइएको छ।
सो भेला शनिबार सुरु भएको हो।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शुक्रबार सो भेलाको स्वागत गरेका छन्। यसले शान्ति सम्मेलनको ढोका खोल्ने विश्वास उनले गरेका छन्।
युक्रेनले वार्ताका लागि भौगोलिक अखण्डतासहितका सर्त अघि सारेको छ।
त्यसलाई अस्वीकार गरेको रुस भने सम्मेलनमा सहभागी भएन। तर, युद्धको शान्तिपूर्ण समाधानमा जोड दिने जुसुकै प्रयासलाई रुसले स्वागत गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले बताएका छन्।
सम्मेलनमा चीन पनि सहभागी छ।
विश्वको सबैभन्दा ठूलो कच्चा तेल उत्पादक साउदीले तेलका विषयमा रुससँग निकट रहेर काम गर्छ। युक्रेनसँग पनि उसको राम्रो सम्बन्ध छ।
त्यसैले यो अधिराज्यले आफूलाई युद्धको मध्यस्थकर्ताको रुपमा उभ्याएको हो।
२०१८ मा पत्रकार जमाल खसोग्गीको हत्या गराएपछि विश्वमञ्चबाट साउदी शासक मोहम्मद बिन सलमान एक्लिएका थिए। तर, युक्रेन युद्धका कारण पैदा भएको उर्जा संकटका कारण साउदी अरबको महत्व फेरि बढेको छ। एजेन्सी
Shares

प्रतिक्रिया