ad ad

ग्लोबल


चिनियाँ विदेशमन्त्री छिन काङ पदबाट बर्खास्त

चिनियाँ विदेशमन्त्री छिन काङ पदबाट बर्खास्त

नेपालखबर
साउन ९, २०८० मंगलबार १७:११, काठमाडौँ

चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ।

एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो। 

चीन सरकार नियन्त्रित सीसीटीभीले छिन काङलाई पदबाट बर्खास्त गरिएको पुष्टि मंगलबार गरेको छ। 

गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक रुपमा देखिएका थिएनन्। 

पछिल्लो पटक जुन २५ मा सार्वजनिक रुपमा देखिएका उनी त्यसयता गायब थिए। त्यसदिन उनले श्रीलंका र रुसका विदेशमन्त्रीहरुलाई भेटेका थिए। त्यसपहिले उनी दैनिकजसो कूटनीतिक भेटमा सक्रिय थिए। त्यही नै उनको अन्तिम भेट थियो। 

यससँगै छिन काङको भाग्य र भविष्यबारे केही सातादेखि भइरहेका अड्कलबाजीले पनि अब पूर्णविराम पाएका छन्। 

उनको एक महिना लामो सार्वजनिक अनुपस्थिति घरेलु राजनीतिमा चर्चाको शिखरमा थियो। 

राष्ट्रपति सी चिनफिङले आफ्नो तेस्रो कार्यकाल अघि बढाउने क्रममा छिन काङ प्रकरणलाई पनि ठूलो संकटका रुपमा लिइएको छ। 

सीसीटीभी दिइएको संक्षिप्त विवरणअनुसार अब छिन काङको स्थानमा वाङ्ग यीले नै विदेश मन्त्रीको भूमिका निर्वाह गर्ने छन्। उनी चीनको विदेश नीति चलाउन राष्ट्रपति सीका एकजना विश्वासपात्रसमेत हुन्।  

छिन काङलाई पदबाट हटाउने निर्णय नेशनल पिपुल्स कांग्रेसको स्थायी कमिटीको एक सत्रका क्रममा गरिएको हो। जुन शीर्ष निर्णय लिने पोलिटब्युरोको सोमबार बोलाइएको एक दिनपछि बसेको थियो। 

विदेशमन्त्रीबाट छिन काङलाई हटाउने निर्णय नेशनल पिपुल्स कांग्रेसको कानुन अनुसार भएको हो। जुन गत २०२१ मार्चमा लागु भएको थियो।

यो नियमले राष्ट्रिय कंग्रेसको साटो स्थायी समितिलाई राज्य परिषद्का‍ केही सदस्य नियुक्त गर्ने र पदबाट हटाउने अधिकार दिएको छ। 

छिन काङ गायब भएपछि चीनका पूर्वविदेशमन्त्री वाङ यीले चीनबाट अन्तर्राष्ट्रिय बैठकहरुमा सहभागिता जनाइरहेका थिए।

पछिल्लो पटक भएको आसियानको बैठकमा पनि वाङ यी देखिएका थिए। उनले यो बैठकमा विश्वजगतका नेताहरुसँग चीनको तर्फबाट भेट्दै संवाद गरेका थिए। 

के थियो विवाद?

 

एकजना महिला पत्रकारसँगका तस्बिरहरु सार्वजनिक भएसँगै विदेशमन्त्री छिन काङमाथि चिनियाँ सरकारले निगरानी बढाएर नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको थियो। 

एकजना ४० वर्षीया विश्वचर्चित महिला पत्रकारसँग पटक पटक सार्वजनिक स्थानमा एक्लै देखिएसँगै छिनमाथि सरकारले कारबाही अघि बढाएको दाबी समाचारमा गरिएको थियो। 

४० वर्षीया चर्चित टेलिभिजन पत्रकार महिलासँग देखिएयता चिनियाँ विदेशमन्त्रीको अवस्था पनि अज्ञात थियो। ती महिलासँग सार्वजनिक स्थानमा देखिएका तस्बिर चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएसँगै सरकारले कारबाही अघि बढाएको थियो। 

एक महिलासँग विदेशमन्त्री यसरी देखिनु गलत बताउँदै चिनियाँ सरकारले उनीहरु दुवैलाई नियन्त्रणमा लिएर राखेको दाबी सञ्चारमाध्यमले गरेका थिए।

४० वर्षीया फू जियोतियान एकजना प्रतिष्ठित पत्रकार हुन्। बेलायतस्थित क्याम्ब्रिज युनिभर्सिटीले सम्मानमा भन्दै एउटा पार्कको नाम नै उनको नाममा राखिदिएको छ।

उता इटालीले पनि ती पत्रकार महिला फूलाई 'अर्डर अफ द स्टार इटाली'बाट सम्मान पनि गरेको थियो। 

अहिले गायब भएकी फूले चीनको पश्चिमा देशसँगको सम्बन्धलाई उचाइमा लैजान गरेको योगदानलाई लिएर प्रशंसा पनि पाएकी थिइन्। 

ब्रिटिश पत्रिका द टाइम्सका अनुसार टीभी प्रस्तोता फू जियोतियान विश्वचर्चित नेताहरुसँगको संवादका कारण चर्चित थिइन्। उनले अमेरिकी, रसियन, भारतीयदेखि म्यानमारको सैनिक नेतृत्वसँग पनि सम्वाद गरेकी थिइन्।

सन् १९८३ मा जन्मिएकी उनी पनि चिनियाँ विदेशमन्त्री गायब भएयता सार्वजनिक मञ्चहरुमा देखिएकी छैनन्। उनको अवस्था के छ भन्ने अझै खुलिसकेको छैन।

६ महिनाअघि उनले तिनै चिनियाँ विदेशमन्त्री छिन काङको अन्तर्वार्ता पनि लिएकी थिइन्। यही अन्तर्वार्ताबाट उनीहरु दुवैजना सार्वजनिक मञ्चमा देखिँदै निकट भएका चर्चा चीनमा पनि चलेको थियो। 

त्यही अन्तरवार्तापछि यी दुईजनाबीचको सम्बन्ध चर्चामा थियो। विदेशमन्त्री छिन एक पत्रकारसँग फ्लर्ट गरिरहेको सार्वजनिक भएसँगै चिनियाँ सरकारले कारबाही गरेको चर्चा विश्वभर चलेको थियो।

यी चिनियाँ पत्रकाले 'टक विद वर्ल्ड लिडर' कार्यक्रम चलाउँथिन्। उनको यो कार्यक्रम चीन र बाहिर पनि चर्चित छ। विदेशमन्त्री छिन गायब भएयता यी पत्रकार पनि टेलिभिजन कार्यक्रममा देखिएकी थिइनन्। 

उनी सरकारी च्यानल फिनिक्समा कार्यरत थिइन्। अप्रिल १२ मा उनले एउटा जहाजसहित ट्विटरमा केही तस्बिर हालेकी थिइन्।

त्यस कोलाजमा सानो बच्चासहितको र विदेशमन्त्री छिनको तस्बिर पनि राखेकी थिइन्। त्यो तस्बिरलाई लिएर उनीहरु निकट र पारिवारिक सम्बन्धमा रहेको चर्चा थियो। त्यही तस्बिरका आधारमा चीनमै पनि दालमा केही कालो छ भन्ने अनुमान सुरु भएको थियो। 

त्यसपछि उनी पनि चिनियाँ सरकारको जाँचको घेरमा आएकी थिइन्। उनलाई दिएको सम्मानलाई लिएर चीन सरकारले इटाली र बेलायत दुवैसँग आपत्तिसमेत प्रकट गरेको थियो।

इटाली र बेलायतले अन्तर्राष्ट्रियस्तरको सम्मान पाएकी उनी र विदेशमन्त्री छिनको अवस्थाबारे चिनियाँ अधिकारीहरुले पछिल्लो समय जवाफ दिन पनि मानिरहेका थिएनन्। तर मंगलबार छिन काङ कारबाहीमा परेसँगै यस घटनाको पटाक्षेप भएको छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .