ग्लोबल


अमेरिकी पक्षले जोर गरेपछि पत्रकारको प्रश्नको जवाफ दिन बाध्य भए मोदी

अमेरिकी पक्षले जोर गरेपछि पत्रकारको प्रश्नको जवाफ दिन बाध्य भए मोदी

नेपालखबर
असार ८, २०८० शुक्रबार १५:२२,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पत्रकार सम्मेलन नगर्ने, प्रश्नको जवाफ नदिने र अन्तर्वार्ता पनि विरलै दिने नेताका रुपमा बदनाम छन्। सत्तामा आएयता विरलै उनले पत्रकारको प्रश्नको जवाफ दिएका छन्। 

तर, अमेरिका भ्रमणका बेला पत्रकारको प्रश्नको जवाफ दिन मोदी बाध्य भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा उनलाई यस्तो बाध्यता आइपरेको हो।

धार्मिक अल्पसंख्यकमाथि उनको सरकारले दमन गरेको विषयमा प्रश्न सोधिएपछि मोदीले लोकतन्त्र भारतको डीएनएमा भएको बताएका थिए।

‘लोकतन्त्र हाम्रो आत्मामा छ। हाम्रो नसामा लोकतन्त्र बहन्छ। त्यो हाम्रो डीएनएमा छ। हामी लोकतन्त्र जिउँछौँ,’ ह्वाइट हाउसको इस्ट रुममा मोदीले भने, ‘भारतको लोकतान्त्रिक मान्यतामा कुनै भेदभाव छँदैछैन। लोकतन्त्रको कुरा गर्दा यदि त्यसमा मानवीय मूल्य र मानवता छैन भने त्यो लोकतन्त्र होइन।’

तर, अमेरिकी पक्षले निकै जोड गरेपछि मात्रै मोदी संयुक्त पत्रकार सम्मेलनमा प्रश्नको जवाफ दिन तयार भएका थिए। सीएनएनका अनुसार यस विषयमा दुई पक्षबीच लामो मोलमोलाइ भएको थियो। 

सुरुमा भारतीय पक्ष संयुक्त पत्रकार सम्मेलन नै नगर्ने अडानमा थियो। 

पत्रकार सम्मेलनमा बाइडेन भारतको आलोचना गर्नबाट बचे। उनले दुवै देश लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए। 

खासगरी युक्रेन युद्ध र मानवअधिकार विषयमा अमेरिका र भारतबीच विमति छन्।

तर, कंग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्दा मोदीले रुस र चीनको नाम लिएनन्। त्यहाँ पनि उनले एक घण्टाको भाषणमा लोकतन्त्रको उच्चारण १७ पटक गरे। 

भारतले पछिल्ला वर्षहरुमा गरेका प्रगतिको सूची मोदी प्रस्तुत गरिहँदा हल तालीले गुञ्जायमान भएको थियो। तर, उनको भाषणलाई कतिपय अमेरिकी सांसदहरुले बहिष्कार गरेका थिए।

मोदीले अमेरिका भ्रमणका क्रममा दुरसञ्चार, सेमिकन्डक्टर, एआईसहित प्रविधिका क्षेत्रमा कयौँ सम्झौता गरेका छन्। त्यस्तै ३ अर्ब डलरको रिपर ड्रोन किन्ने प्रक्रिया पनि अघि बढेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad