अष्ट्रेलिया आएका नेपालीको आकर्षण संघीय राजधानी क्यानबेरा बन्न थालेको छ। स्थायी बसोबासका लागि सहज हुने भएपछि विभिन्न सहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ क्रम बढ्दो रहेको छ।
राजधानी क्यानबेरा व्यवस्थित र शान्त सहर हो। यहाँको जनसंख्या चार लाख हाराहारी मात्र रहेको छ। विगत १२ वर्षदेखि बसोबास गर्दै आएका गैर आवासीय नेपाली संघ क्यानबेरा क्षेत्रका उपसंयोजक अशोक बस्नेत आफूहरु आउँदा २०० को हाराहारीमा रहेका नेपालीको संख्या हाल पाँच हजार नाघेको बताउछन्।
नेपालीद्वारा यहाँ सञ्चालित पहिलो शैक्षिक तथा अध्यागमन परामर्श केन्द्रका निर्देशक आदर्शजंग पाण्डेले नेपालीको आकर्षण बढ्नुमा स्थानीय सरकारले अबलम्वन गरेको अध्यागमन नीति नै प्रमुख रहेको जानकारी दिए।
यहाँको सरकारले केन्द्र सरकारको नीतिअनुसार अष्ट्रेलियाका मुख्य सहरभन्दा क्षेत्रीय सहरमा आप्रवासीको संख्या बढाउने कार्यलाई प्राथमिकता दिएको छ। नेपालबाट सोझै यहाँ आउने अन्य शहरबाट अध्ययन गरी स्थायी बसोबास (पीआर) का लागि यहाँ आउने गरेका छन्।
नेपालीको संख्या उल्लेख्य वृद्धि भएसँगै विभिन्न संघ संस्थाका गतिविधि पनि बढेका छन्। दुई चार वर्ष अघिसम्म नेपाली चलचित्र प्रदर्शन र नेपाली कलाकारका प्रस्तुति खासै रहेको थिएन। पछिल्ला वर्षहरुमा ती गतिविधि बढेका छन्। यहाँको अष्टे«लिया नेपाल फ्राइन्डसिप सोसाइटीका गतिविधि पनि बढ्दै गएको छ। ३७ वर्ष अघि यहाँका अष्टे«लियन र केही नेपाली विद्यार्थीले संस्था स्थापना गरेका थिए।
संस्थाको पहिलो महिला अध्यक्ष खुस्बु न्यौपाने पछिल्ला वर्षहरुमा अष्ट्रेलियाका अन्य शहरमा रहेका नेपाली विद्यार्थी पनि यहाँ आउने क्रम निकै बढेको बताउछन्। नेपालीको संख्या बढेसँगै सोसाइटीले नेपालका हितमा विभिन्न कार्यक्रम ल्याएको छ।
यहाँका अधिकांश आवास क्षेत्रमा नेपाली भेट्न सकिन्छ। अस्पताल, व्यावसायिक मल, सरकारी कार्यालय, व्यापारिक केन्द्र, विश्वविद्यालयलगायतमा नेपाली कार्यरत रहेको देख्न सकिन्छ। यहाँ नेपालीहरुको खेलप्रति रुचि र गतिविधि उल्लेख्यरुपमा बढेको छ। नेपालीहरुले क्यानबेरा नेपाली फुटबल क्लब, भलिबल क्लब र क्रिकेट क्लब गठन गरेर सामूहिक खेलकूद गतिविधि सञ्चालन गर्दै आएका क्रिकेट क्लबका अध्यक्ष कमल आचार्यले जानकारी दिए।
सन् २०२० को अप्रिलमा अष्ट्रेलिया र छिमेकी देशमा नेपालीको सहभागितामा क्यानबेरामा बृहत् मेला हुने गरेको कार्यक्रमका संयोजक तथा अष्ट्रेलिया सरकारका वरिष्ठ जलस्रोतविज्ञ डा. दुर्गादत्त कँडेलले बताए। यहाँको सरकारी अस्पताल क्यानबेरा अस्पतालमा कार्यरत अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका जनसम्पर्क अधिकृत समिर अधिकारी स्थायी बसोबास र सुुनिश्चित भविश्यको सहजताका लागि यहाँ नेपाली आउन क्रम बढेको बताउछन्। यही सहरमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावास रहेको छ। अष्ट्रेलियाको संघीय सरकारको संसद्का दुवै सभा, प्रधानमन्त्री एवं मन्त्रीहरुको कार्यालय सबै यही छन्।
क्यानबेरामा नेपालीहरुका लागि उपयुक्त देखिए पनि राज्य तथा केन्द्र सरकारका अध्यागमन नीति नियमको बारेमा बुझेर मात्रै आउनुपर्ने यहाँको अध्यागमनसम्बन्धी जानकार विक्रम सुवेदी बताउछन्।
Shares

प्रतिक्रिया