ad ad

ग्लोबल


न्युजिल्यान्डमा चक्रवातबाट व्यापक क्षति, चारजनाको मृत्यु

न्युजिल्यान्डमा चक्रवातबाट व्यापक क्षति, चारजनाको मृत्यु

नेपालखबर
फागुन ३, २०७९ बुधबार २१:१७, काठमाडौँ

न्युजिल्यान्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ। चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ। 

उत्तरी टापुको हक्सवेबाट तीन सय जनालाई उद्धार गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्। जलमग्न घरका छतबाट उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको हो। चक्रवात क्रमशः कमजोर भएको छ। यद्यपि त्यसबाट करिब दश हजार पाँच सय मानिस विस्थापित भएका छन्। 

शक्तिशाली आँधी, मुसलधारे वर्षासँगैको बाढीपहिराले सडक, पुल बगाएको छ भने चौपाया मरेका छन्। खेतखलियान र आवासीय भवनहरू जलमग्न भएका छन्। सरकारले क्षतिको मूल्याङ्न थालेको जनाएको छ। केही स्थानमा मानिस घरको छतमा बसेर उद्धारको प्रतीक्षा गरिरहेका छन्। एक हजारभन्दा बढी मानिस हराइरहेका छन्। 

चक्रवात प्रभावित अधिकांश स्थानमा वर्षा रोकिए पनि विद्युत् सेवा अवरुद्ध भएको छ। डुबानमा परेका घरबाट पानीको सतह घटिसकेको छैन। रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार करिब १५ लाख न्युजिल्यान्डका जनता चक्रवातबाट प्रभावित भएका छन्। नौ हजारभन्दा बढी विस्थापित भएका छन्। अस्थायी आवासको व्यवस्था मिलाउन युद्धस्तरमा सुरक्षाकर्मी परिचालन भएका छन्। हालसम्म तीन हजार अस्थायी आश्रयस्थल निर्माण गरिएको छ। 

चक्रवात प्रभावित ८० हजार घरमा पुनःविद्युत् आपूर्तिको व्यवस्था गरिएको भए पन अझै एक लाख ४० हजार मानिस अध्याँरोमा बस्न बाध्य भएका छन्। अति प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न र पिउने पानी सञ्चय गर्न अनुरोध गरिएको छ।

रक्षा मन्त्रालयका अनुसार सात सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। चार वटा विमान, सात वटा हेलिकप्ट र दुईवटा जलसेनाका जहाज बाढी पीडितका निम्ति अत्यावश्यक सामग्री आपूर्तिका साथै उद्धारमा परिचालन भएका छन्। देशमा आपत्‌काल घोषणा गरेर सरकारले विपद् व्यवस्थापन निकायलाई सक्रिय पारेको छ। अर्को सूचना जारी नभएसम्म आफ्ना घरमा नफर्कन मौसम विज्ञान विभागले सुझाएको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .