ad ad

ग्लोबल


क्रोएशियालाई सीमाविहीन युरोप समूहमा मान्यता, शनिबारदेखि युरोको प्रयोग सुरु

क्रोएशियालाई सीमाविहीन युरोप समूहमा मान्यता, शनिबारदेखि युरोको प्रयोग सुरु

नेपालखबर
पुस १७, २०७९ आइतबार ८:१, काठमाडौँ

क्रोएशियाले शनिबार रातिदेखि युरोपको राहदानी–मुक्त क्षेत्रमा प्रवेश गरेको छ। 

लगभग एक दशक अघि ईयूमा सामेल भएपछि क्रोएशियाको लागि यूरोपमा पासपोर्टबिना यात्रा गर्न पाइने अवसर र युरोपको संयुक्त मुद्रा युरो कारोबार गर्न पाउनु तत्काल यसका लागि दुई प्रमुख लाभ हुनेछन्। 

स्थानीय समयानुसार शनिबार ११ बजे बाल्कन राष्ट्रले आफ्नो कुना मुद्रा प्रयोगलाई अन्त्य गर्नेछ र युरो क्षेत्रको २० औं सदस्य बन्नेछ। यो विश्वको सबैभन्दा ठूलो पासपोर्ट मुक्त सेन्जेन क्षेत्रको २७ औं राष्ट्र पनि हुनेछ। यसले ४० करोडभन्दा बढी आफ्ना नागरिकलाई आफ्ना सदस्यहरूको वरिपरि स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्षम बनाउनेछ। 

रुसले युक्रेनमाथि गरेको आक्रमणले खाद्यान्न र इन्धनको मूल्य नियन्त्रणभन्दा बाहिर गएपछि विश्वव्यापी मुद्रास्फीति बढिरहेको बेला युरोको प्रयोगले क्रोएशियाको अर्थतन्त्रलाई जोगाउन मद्दत पुग्ने विज्ञहरूले बताएका छन्। 

तर यसबारे क्रोएसियालीबीचको भावना मिश्रित छ। उनीहरू सीमा नियन्त्रणको अन्त्यको स्वागत गरेका छन् तर केहीले युरोको सुरूवातको बारेमा चिन्ता गरेका छन्। क्रोएसियाको दक्षिणपन्थी विपक्षी समूहले यसले जर्मनी र फ्रान्सजस्ता ठूला देशहरूलाई मात्र फाइदा पु¥याउने तर्क राख्दै आएका छन्। 

जाग्रेबका ६३ वर्षीय निवृत्तिभरण बुझ्दै आएका ड्राजेन गोलेमाकले भने, “हामी हाम्रो मुद्रा (कुना) को प्रयोगको अन्त्यका कारण पछुताउनु पर्नेछ। किनकि यूरोको प्रयोगले देशमा मूल्य वृद्धि निम्त्याउनेछ।” यद्यपि, उनकी पत्नी सान्ड्राले ‘युरो बढी मूल्यवान् छ’ भन्दै आफ्ना पतिको भनाइप्रति तत्काल असहमति जनाइन्। 

“जनवरी १ मा केही पनि परिवर्तन हुँदैन, सबै दुई दशकको लागि यूरोमा गणना गरिन्छ,” क्रोशियाली कर सेवाका कर्मचारी नेभेन बेनिकले भने। 

अधिकारीहरूले युरोजोन र सेन्जेनमा सामेल हुने निर्णयको बचाउ गरेका छन्। त्यस्तै, प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले बुधबार भने, “बृहत् ईयु एकीकरणका दुई रणनीतिक लक्ष्य थिए।”

‘स्थिरता र सुरक्षा’
सन् १९९० को दशकमा ३९ लाख जनसङ्ख्या भएको युगोस्लाभियाली गणतन्त्र क्रोएसिया सन् २०१३ मा युरोपेली सङ्घमा सामेल भएको थियो।

युरो पहिलेदेखि नै क्रोएशियामा धेरै हदसम्म प्रचलनमा रहेको छ। करिब ८० प्रतिशत बैङ्क डिपोजिट यूरोमा अङ्कित छ र जाग्रेबका मुख्य व्यापारिक साझेदारहरू यूरो क्षेत्रमा रहेका छन्। 

स्थानीय मुद्रामा विश्वासको कमी देखाउँदै क्रोएसियालीहरूले लामो समयदेखि आफ्नो कार र अपार्टमेन्टहरूजस्ता सबैभन्दा मूल्यवान सम्पत्तिहरू यूरोमा मुल्याङ्कन हुँदा मूल्यवान् हुने बताएका छन्। 

‘निश्चित रूपमा युरोले (आर्थिक) स्थिरता र सुरक्षा ल्याउँछ,” क्रोएसियाको राष्ट्रिय बैंक (एचएनबी) की एना साबिकले एएफपीसँग भने। विज्ञहरुका अनुसार युरोको प्रयोगले आर्थिक कठिनाइका बीच ऋणको अवस्था घट्नेछ।

क्रोएसियाको मुद्रास्फीति दर नोभेम्बरमा १३।५ प्रतिशत पुगेको छ भने युरो क्षेत्रमा मुद्रास्फीति १० प्रतिशत पुगेको छ।

पोल्याण्ड वा हङ्गेरीजस्ता युरोक्षेत्र बाहिरका मुद्रा भएका पूर्वी युरोपेली सङ्घका सदस्य राष्ट्रहरू बढ्दो मुद्रास्फीतिको चपेटामा परेको विश्लेषकहरू बताउँछन्।

यूरोपको सीमारहित क्षेत्रमा समावेश
सेन्जेन सीमारहित क्षेत्रमा क्रोएशियाको प्रवेशले एड्रियाटिक राष्ट्रको प्रमुख पर्यटन उद्योगलाई पनि बढावा दिनेछ, जसले यसको कुल गार्हस्थ उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ।

युरोपेली सङ्घका सदस्य राष्ट्र स्लोभेनिया र हङ्गेरीसँग ७३ वटा स्थल सीमा नाकामा लामो लाइन लाग्नु क्रोस्एशियाका लागि इतिहास बन्नेछ। प्राविधिक समस्याका कारण विमानस्थलमा मार्च २६ मा मात्र सीमा जाँच सकिँदै छ।

क्रोएसियाले युरोपेली सङ्घ बाहिरका छिमेकी बोस्निया, मोन्टेनेग्रो र सर्बियासँगको पूर्वी सीमामा अझै कडा सीमा जाँच लागू गर्नेछ।
क्रोएशियाको यो प्रवेशसँगै एक हजार ३५० किलोमिटर (करिब ८४० माइल) मा रहेको इयूको सबैभन्दा लामो बाह्य सीमाको रक्षाका लागि अवैध आप्रवासनविरुद्धको लडाइँ मुख्य चुनौती बनेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .