ad ad

राजनीति


नेपाल  उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो : उपराष्ट्रपति पुन

नेपाल  उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक हो : उपराष्ट्रपति पुन

नेपालखबर
पुस १७, २०७९ आइतबार ८:५, काठमाडौँ

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका छन्।

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति यहाँ आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उनले संस्कृति र प्रकृतिको धनी नेपाल  उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका हन्।

बहुभाषी, बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक, रीतिरिवाज भएको नेपालले संस्कृति र प्रकृतिबाट पर्यटकलाई आकर्षित गरिरहेको उनको भनाइ छ।

उपराष्ट्रपति पुनले कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा एक सय ६० अर्ब क्षति पुगेको बताए। कोरोना महामारीबाट थला परेको नेपालको पर्यटन उद्योगमा पछिल्लो समय केही सुधारको सङ्केत देखिएको उनको भनाइ थियो।

उनले नयाँ सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना अगाडि सार्नुपर्ने बताए। नेपालको पर्यटन क्षेत्रको विकासमा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नेपालको पर्यटन क्षेत्रको राजधानी ठमेल भएकाले ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की, नेकपा (एमाले)का केन्द्रीय सदस्य भीम केसीले नेपालको आर्थिक विकासको मुख्य आधार जलविद्युत्, कृषि र पर्यटन भएकाले पर्यटन क्षेत्रको विकासका लागि नयाँ सरकारले काम गर्ने विश्वास व्यक्त गरे।

सरकारका मुख्यसचिव शङ्करदास बैरागीले नेपाललाई विश्वमाझ चिनाउनका लागि पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पर्यटन दशक मनाउन लागेको बताए।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँको पर्यटन क्षेत्रको विकासका लागि महानगरपालिकाले अक्षयकोष स्थापना गरेर काम गर्दै आइरहेको बताए।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले मुलुकले सोचेजस्तो पर्यटक भित्र्याउन नसकेको भन्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए। काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेललाई पर्यटनको विशेष क्षेत्रका रूपमा अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गरे।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले १० हजार व्यवसायी र ६० हजारले प्रत्यक्ष तथा अप्रत्ययरूपमा रोजगार पाएको ठमेलको विकासका लागि सरकारले विशेष योजना अगाडि बढाउनुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .