रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले दशाकौंदेखि नै रुसको पतनको सपना देख्दै आएको आरोप लगाएका छन्।
उज्वेकिस्तानमा सांघाई सहयोग संगठन (एससीओ)को बैठकपछि बोल्दै पुटिनले सोभियत संघ र ऐतिहासिक रुसलाई ध्वस्त पार्ने योजना बनाए पनि अहिले पनि रुस पहिलाको जस्तै रहेको दाबी गरेका हुन्।
उनले भने, ‘पश्चिमा देशले रुसको बर्बादी कहिले पनि देख्न पाउने छैनन्।’ उनले युक्रेनमा जारी सैन्य अभियान सोही परिस्थितिलाई रोक्न चलाइएको दाबीसमेत गरे।
अमेरिकाको नेतृत्वमा केही मुलुकले रुसविरोधी गुट बनाएर रुसलाई ध्वस्त पार्ने योजना बनाएको र अहिले पनि मानिसहरुलाई भ्रमित पार्ने कार्य गरिरहेको पुटिनको आरोप छ।
पुटिनले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य उद्देश्य डोनबासलाई स्वतन्त्र गराउनु पनि रहेको बताए।
पुटिनले पछिल्लो केही समययता युक्रेनको तर्फबाट आइरहेको समाचारबारे केही समय धैर्यधारण गर्न पनि आग्रह गरेका छन्। उनले पछिल्लो समय युक्रेनले जवाफी आक्रमण तीव्र बनाए पनि आफूहरुको रणनीतिमा कुनै किसिमको परिवर्तन नभएको पुटिनले बताए।
पुटिनले रुस आफ्नो उद्देश्य सफलता प्राप्त गर्न हतार गर्नु नरहेको र युक्रेनमा लडिरहेका सैनिक भाडाका रहेको बताए। उनले युक्रेनमा लडिरहेका पूरै सैनिक रुसी सेना नरहेको उनको भनाइ छ।
पुटिनले आफू युद्ध रोक्नका लागि युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि वार्ताको लागि तयार रहेको तर युक्रेन वार्तामा बस्न नचाहेको आरोप लगाएका छन्।
Shares
प्रतिक्रिया