युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि पहल गरिदिन चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आह्वान गरेका छन्। बेइजिङले आफ्नो राजनीतिक र आर्थिक प्रभावको उपयोग गरेर रुसलाई युद्ध रोक्नका लागि मनाउनुपर्ने उनको भनाइ छ।
जेलेन्स्कीले हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टलाई अन्तर्वार्ता दिँदै फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि नै राष्ट्रपति सीसँग संवादका लागि आफूले प्रयास गरिरहेको बताएका छन्। तर, अहिलेसम्म त्यो मौका प्राप्त नभएको उनले बताएका छन्।
‘म प्रत्यक्ष कुरा गर्न चाहन्छु। मैले एक पटक मात्र राष्ट्रपति सी चिनफिङसँग कुरा गरेको छु। त्यो एक वर्षअगाडिको कुरा थियो,’ जुममार्फत जेलेन्स्कीले एससीएमपीसँग भनेका छन्, ‘फेब्रुअरी २४ मा ठूलो स्तरको आक्रमण सुरु भएपछि हामीले औपचारिक रुपमा संवादका लागि आग्रह गरेका छौँ। तर, अहिलेसम्म हुन सकेको छैन।’
चीन रुसको महत्वपूर्ण सहयोगी हो। रुसले युक्रेनमाथि ‘विशेष सैन्य कारबाही’ सुरु गरेको ६ महिना भइसकेको छ।
पश्चिमाहरुले त्यसलाई आक्रमण भने पनि चीनले रुसलाई पश्चिमाहरुले नेटो विस्तार गरेर उत्तेजित तुल्याएको बताउँदै आएको छ। एजेन्सी
Shares
प्रतिक्रिया