नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन्।
बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गरेका हुन्।
उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यस पटकको चुनावमा प्रतिष्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको बताए।
उनले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्ने भन्दै परिस्थितिको सामना गरेर विजयको ढोका खोल्ने बताए।
अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उद्घोष गरे।
उनले भने, ‘अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्ला जस्तो लागिरहेको छ। धेरै बस्न पनि जरुरी छैन। ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन। यसपटकको चुनावमा त लड्नैपर्छ। जित्नैपर्छ। राजनीतिलाई एउटा मोडमा पुर्याउनै पर्छ। चुनावको मितिको घोषणा भइपनि सकेको छ। अबपनि चुनावमा नउठ्ने भन्ने कुरा गर्नै भएन। डराएछ कि के हो माधव नेपाल भन्नेपर्ला। सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईहरुको बीचमा मैले फेरि आउनुपर्नेछ।’
उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए।
अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँच दलीय गठबन्धन गरेरै प्रतिष्पर्धा गर्ने बताए।
उनले शुक्रवार पाँच दलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने कुराको घोषणा हुने बताए। उनले अब तेस्रो शक्ति बनाउन पार्टीहरु एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी उक ठाउँमा हुनुपर्ने आवश्यक्ता भएको बताए।
अध्यक्ष नेपालले नेपाली कांग्रेसमा हामी नै सबैथोक हौँ भन्ने परेको आशंका व्यक्त गर्दै अरु पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताए। उनले नेकपा एमालेप्रति इंगित गर्दै आफू सर्वेसर्वा हुँ भनिरहेको र यही प्रवृतिले देश बिगारिरहेको उल्लेख गरे।
उनले भने ‘गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने कुरा आउला, त्यसैले गठबन्धन कायम रहन्छ। हामी आगामी निर्वाचनमा गठबन्धन गरेर हामी भोलि गठबन्धन रहन्छ भनेर घोषणा गर्दैछौँ। हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ। तेस्रो शक्ति। तेस्रो शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, यी ४ पार्टी एक ठाउँमा गलबन्दी हुन जरुरी छ। नेपाली कांग्रेसलाई हामी नै सबैथोक हौँ भन्ने परेको हुनसक्छ। यता एउटालाई त परेकै छ। मै हुँ सर्वेसर्वा भन्ने। यसले बिगारेको छ।’
Shares

प्रतिक्रिया