तालिबानका लडाकुले अफगानिस्तानको एक प्रान्तीय राजधानीमा कब्जा गरेको छ। अर्कातिर राजधानी काबुलमा सरकारका एक शीर्ष सञ्चार अधिकारीको तालिबानले हत्या गरिदिएका छन्।
अफगानिस्तानबाट अमेरिकी सुरक्षाबल फिर्ता भएसँगै त्यहाँको अवस्था झन् झन् खराब भएको छ। तालिबानले धमाधम देशका ठूला सहरमा कब्जा जमाउन थालेको छ।
दक्षिणी प्रान्त निमरोजका एक पुलिस प्रवक्ताले समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार तालिबानले प्रान्तीय राजधानी जरान्जमा कब्जा जमाएका छन्।
उनले काबुलको पश्चिमी देश समर्थित सरकारले उक्त शहरलाई सुरक्षित गर्न सेना पठाउन पनि सकेन। जसका कारण तालिबानले सहरमा कब्जा जमाएको हो।
अर्कातिर तालिबानका एक प्रवक्ताले ट्विटरमा प्रान्तलाई पूरा मुक्त गरेको बताएका छन्। उनले गभर्नर निवास, पुलिस मुख्यालय र अन्य सरकारी कार्यालयमा अब तालिबानले नियन्त्रण गरेको जनाएका छन्।
अहिलेसम्म कुनै पनि प्रान्तको राजधानी तालिबान गुटको कब्जामा गएको थिएन। तर बिहीबार जरान्ज प्रान्तमा तालिबानले कब्जा जमाउन सफल भएको हो।
यसका साथै पश्चिममा हेरात र दक्षिणमा लश्कर गाउँमा पनि भीषण संघर्ष चलिरहेको छ।
इरानको सीमासँग जोडिने जरन्ज एक ठूलो व्यापारिक केन्द्र हो। आसपासका जिल्लामा कब्जा गरेपछि तालिबान लडाकुले लगातार यस शहरमा कब्जा प्रयास गरिरहेका थिए।

दुई आधिकारिक सूत्रले बीबीसीलाई बताए अनुसार यस शहरमा पूरा कब्जा जमाएको छ। अर्कातिर अन्य सूत्रले पनि सुरक्षा कार्यालयको राष्ट्रिय निर्देशकको भवन नजिकै पनि भीषण संघर्ष चलिरहेको छ।
निमरोज पुलिस विभागका प्रवक्ताले रोयटर्सलाई बताए अनुसार सरकारले थप सुरक्षा बल पठाउन नसकेपछि तालिबानका लडाकु यस शहरलाई कब्जा गर्न सफल भएका छन्।
अर्कातिर शुक्रवार साँझ एक शीर्ष अफगान जनरलले हवाई हमलामा निमरोजमा शीर्ष तालिबान कमाण्डर र उनका १४ सहयोगी मारिएको दाबी गरेका छन्।
तर पनि जनरल सामी सादातको यस दाबीको स्वतन्त्र पुष्टि भएको छैन। जनरल सामी अफगानिस्तानको सेनाका २१५ माईभन्ड अफगान आर्मीका कमाण्डर हुन्।
तालिबानलाई २० वर्षअघि अमेरिकी सैन्य बलले सत्ताबाट हटाइदिएका थिए। अब अमेरिका गएपछि तालिबान फेरि अफगानिस्तानमा इस्लामी शासन लागू गर्ने अभियानमा जुटेको छ। हालैका महिनामा तालिबानले देशका ठूला भूभागमा कब्जा जमाइसकेको छ।
जरान्ज पहिलो प्रान्तीय राजधानी हो जसलाई तालिबानले कब्जा जमाउन सफल भएको छ। तालिबानले अफगानिस्तानसँग सीमा जोडिने अहम् सीमा चौकीमा पनि कब्जा जमाइसकेको छ। पश्चिममा हेरात र दक्षिणमा कन्धार जस्ता ठूला शहरमा कब्जा गर्ने प्रयास तीव्र बनाएको छ।
यसैबीच न्यूयोर्कमा संयुक्त राष्ट्र संघबाट अफगानिस्तानका लागि विशेष दूत डेबोरा ल्योन्सले तालिबानको राजनीतिक समाधानको बचनप्रति प्रश्न उठाएका छन्। संयुक्त राष्ट्र सुरक्षा परिषदमा बोल्दै उनले युद्ध अब खतरनाक र विनाशकारी स्थितिमा पुगिसकेको जानकारी दिएका छन्।
उनले अफगानिस्तानको अहिलेको अवस्थाले केही वर्षअघिको सिरिया र केही दशक पहिलेको बोस्निया हर्ज गोभिनाको राजधानी सारायेभोको झल्को दिलाइरहेको छ।
संयुक्त राष्ट्र संघमा रुसका राजदूत वासिली नेबेनजियाले अफगानिस्तान अब युद्धले घेरिने खतरा अब वास्तविक लागिरहेको बताएका छन्। अर्कातिर तालिबानसँग जोडिएको सूत्रले उनीहरु अहिले जरान्जमा भएको जितको उत्सव मनाइरहेको बताएको छ। यसले तालिबान लडाकुको हौसला बढाइरहेको छ।

अर्कातिर काबुलमा तालिबानले सरकारको सञ्चार तथा सूचना विभागका प्रमुख दावा खान मेनापालको हत्या गरिदिएको छ। तालिबान लोकतान्त्रिक रूपमा चुनिएको राष्ट्रपति अशरफ घानीको सरकारलाई कमजोर बनाउन राजनीतिक हत्यामा पनि उत्रिरहेको छ।
अफगानिस्तानमा अमेरिकी राजदूत रस विलसनले मेनापालको हत्याप्रति दु:ख जनाएका छन्। उनले मेनापालले अफगानिस्तानका सबै नागरिकलाई सत्य सूचना दिएको पनि उनले बताएका छन्।
उता ह्वाइट हाउसले एक विज्ञप्तिमा तालिबानको यस किसिमको अमानवीय व्यवहार अन्तरराष्ट्रियस्तरमा मान्यता दिलान सक्ने छैन। तालिबान विश्व मञ्चमा राजनीतिक मान्यता राखिरहेको छ।
ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले वासिङ्गटनमा पत्रकारसँग भने, 'तालिबानले हिंसाको मार्ग छाड्नैपर्छ। उनीहरुले आफ्नो सैन्य अभियानको विकल्पमा यो ऊर्जा शान्ति प्रक्रियामा लगाउनु जरुरी छ।'

Shares

प्रतिक्रिया