सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनाङ पुगेर बाढी पीडित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
हिमालपारिको जिल्ला मनाङमा गत असार १ गतेको बाढीबाट प्रभावित क्षेत्रको शनिबार अवलोकनका क्रममा उनले यस्तो आश्वासन दिएका हुन्। 'यो सरकारको साथ तपाईँहरूलाई छ', उनले भने, 'तपाईंहरुको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार साथमा छ।'
अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक र मनाङमा सय वर्षयताकै ठूलो बाढी-पहिराले धेरै क्षति पुर्याएको उल्लेख गर्दै यसको समाधानका लागि भूगर्भविदबाट अध्ययन गराएर दीर्घकालीन योजना बनाउने बचन दिए।
'तत्कालका लागि प्रभावित जनताको बसोबास र खाद्यान्न व्यवस्था गर्नेछौँ', उनले भने, 'दीर्घकालीन रूपमा पनि हामीले योजना बनाउने छौँ।'
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल लगायत जनप्रतिनिधिको टोलीले मनाङका पिसाङ, चामे, नासों गाउँपालिकाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ।
Shares

प्रतिक्रिया