ad ad

ग्लोबल


अफगानिस्तानमा मारिए रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकी

अफगानिस्तानमा मारिए रोयटर्सका फोटो पत्रकार दानिश सिद्दीकी

नेपालखबर
साउन १, २०७८ शुक्रबार १४:३७,

अफगानिस्तानमा एकजना चर्चित भारतीय फोटो पत्रकार दानिश सिद्धिकी मारिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार तालिबान र अफगान सुरक्षाकर्मीको भिडन्तको रिपोर्टिङ गरिरहेका उनको ज्यान गएको खबर शुक्रबार प्राप्त भएको हो। 

भारतमा अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले पनि पत्रकार सिद्धिकीको निधन भएको पुष्टि गरेका छन्।

'गएराति कन्धारमा मेरा साथी दानिश सिद्दीकी मारिएको दुःखद खबरले म आहत छु', उनले भनेका छन्, 'पुलित्जर पुरस्कार विजेता भारतीय पत्रकार अफगान सुरक्षाबलसँगै थिए। उनीसँग म दुई साताअघि काबुलमा भेटेको थिएँ। उनको परिवार र रोयटर्सलाई मेरोतर्फबाट समवेदना।'

अफगानिस्तानको टेलिभिजन च्यानल टोलो न्युजका अनुसार  दानिशको मृत्यु कन्धारको स्पिन बोल्डाक जिल्लामा भइरहेको युद्धको रिपोर्टिङमा भएको हो। तालिबानले बुधवार स्पिन बोल्डक शहर र त्यहाँ पाकिस्तानसँग जोडिएको एक महत्वपूर्ण सीमा चौकीमाथि कब्जा जमाएका थिए।

दानिश सिद्दीकी अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका प्रमुख फोटोग्राफर थिए। उनी पछिल्ला केही दिनदेखि अफगानिस्तानमा जारी संघर्ष र तनावको निरन्तर रिपोर्टिङमा खटिएका थिए। उनले आफ्नो ट्विटर अकाउन्टमा पछिल्ला दिन लगातार त्यहाँको स्थितिको विवरण दिइरहेका थिए। उनले दुई दिनअघि मात्रै आफू ठूलो भिडन्तबीच मुस्किलले जोगिएको विवरण पनि सार्वजनिक गरेका थिए।

दानिश सिद्दीकी मुम्बई निवासी थिए। उनी भारतमा रोयटर्स पिक्चर्सका मल्टिमिडिया टिमका प्रमुख पनि थिए। उनले दिल्लीको जामिया मिल्लिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए। सन् २००७ मा उनले जामियामा नै एजेके मास कम्यूनिकेशन रिसर्च सेन्टरबाट स्नातकोत्तर गरेका थिए।

उनले पत्रकारितामा करियरको शुरुवात एक टिभी सम्वाददाताका रुपमा गरेका थिए। त्यसपछि उनी फोटो पत्रकार बनेका थिए। सन् २०१० मा उनले रोयटर्समा इन्टर्नका रुपमा काम थालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .