ad ad

गण्डकी


देशैभरका चिकित्सकलाई आन्दोलित बनाउने मणिपाल अस्पतालको त्यो घटना

डाक्टरमाथि हातपात गर्नेविरुद्ध ७ दिन म्याद थप तर अशान्ति कायमै
देशैभरका चिकित्सकलाई आन्दोलित बनाउने मणिपाल अस्पतालको त्यो घटना

वाशुदेव मिश्र
असोज ९, २०८० मंगलबार २१:१७, पोखरा

सोमबार पुनः पोखराको मणिपालमा पसेको ‘अशान्ति’ को ज्वाला कति संवेदनशील छ भन्ने जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार जारी गरेको दुईवटा प्रेस विज्ञप्तिबाट प्रष्ट हुन्छ। 

कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षकबाट जारी पहिलो विज्ञप्तिमा मणिपाल अस्पतालमा सोमबार घटेको घटना र प्रहरी कारबाहीबारे भनिएको छ, ‘लमजुङ सुन्दरबजार नगरपालिका ६ घर भएकी ५७ वर्षीया  सुकमाया दुरालाई स्वासप्रस्वास तथा ढाड दुख्ने समस्यासम्बन्धी बिरामी भइ उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते दिउसो १ बजे उनको निधन भएको। डाक्टरले मृत घोषणा गरेपछि मृतकका आफन्तहरुले मृत्युको कारण खुलाउने मागसहित होहल्ला र आन्दोलित हुँदा मृतकप क्ष र चिकित्सकबीच विवाद सिर्जना भइ राति ९ बजेतिर दुवैतर्फबाट सिसाहरु तोडफोड भएको। स्थिति नियन्त्रणमा लिन र अस्पतालमा थप क्षति नहोस् भन्नका लागि चिकित्सक कुटपीटमा संलग्न हुने मृतक पक्षका पोखरा ५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत नियन्त्रणमा लिइएको र अनुसन्धान भइरहेको। चिकित्सक तर्फबाट होहल्ला र नाराबाजीमा संलग्न हुने फिस्टेल अस्पतालमा कार्यरत डा. दीनेशकुमार बिकलाई समेत नियन्त्रणमा लिइ यस कार्यालय ( जिल्ला प्रहरी कार्यालयमा) राखिएकोमा आज (मंगलबार बिहान ९ः३० बजे )पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा.मिनबहादुर गुरुङको रोहबरमा डा. गिरिधारी शर्मालाई जिम्मा लगाइ छाडिएको।’ 

प्रहरीको पहिलो विज्ञप्तिमा पोखरा मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएको जानकारीसहित तोडफोड भएको र डाक्टरलाई पनि नियन्त्रणमा लिइएको स्वीकारिएको छ। 

मणिपालमा यसअघि पनि यस्ता घटना हुन्थे । तर, यस्ता घटना बिरामीका आफन्त र अस्पताल प्रशासनबीच सहमतिमा  टुंगिन्थे। तर, यो पटक त्यस्तो भएन। डाक्टर कुटपिटको विरोधमा पोखरासहित देशभरका डाक्टरहरू आन्दोलित भए। 

सुरक्षाको माग राख्दै डाक्टरहरू आन्दोलित बनेपछि सरकारले डाक्टरहरुसँग मंगलबार वार्ता ग¥यो। चिकित्सकमाथि हातपात गर्नेलाई कडा कारवाही गर्ने प्रतिवद्धता जनायो।

डाक्टरहरू सो निर्णयबाट सन्तुष्ट भएका छैनन्। उनीहरूले सुरक्षाको प्रत्याभूति खोजिरहेका छन्। तर, गृहमन्त्रालयले नै चिकित्सकमाथि भौतिक आक्रमण गर्नेप्रति कठोर बनेसँगै कास्की प्रहरीले मंगलबार साँझ अर्को प्रेस विज्ञप्ति जारी ग¥यो। 

प्रेस विज्ञप्तिमा पहिलेको भन्दा भाषा परिवर्तन गरियो र चिकित्सकमाथि भौतिक आक्रमण गर्नेलाई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी गरायो। 

कास्की प्रहरी प्रवक्ता श्रवणकुमारबाटै जारी सो विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८०।०६।०८ गते अं.१३ः०० बजे डाक्टरले मृत घोषणा गरेको र मृतकका आफन्तहरूले उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलित भइ उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको घटनामा चिकित्सकलाई कुटपीट तथा बादविवाद गर्ने जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ मालेपाटन बस्ने वर्ष ३४ का विनय गुरुङलाई मिति २०८०।०६।०८ गते वेलुकी अं.१८ः३० बजे नियन्त्रणमा लिइ निज उपर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको।’

डाक्टरहरूको आन्दोलन चलिरहँदा पोखरामा मंगलबार दिनभर मृतकका आफन्त र अस्पताल–जिल्ला प्रशासन कार्यालय–प्रहरीबीच वार्ता भइरह्यो।

तर, डाक्टरहरू नै आन्दोलित बनेपछि सहमतिको वातावरण बनेन। ‘आज दिनभर २०–२५ पटक वार्ता भयो। तर, मृतकका आफन्तहरूले मृत्युको कारण देखाउनुपर्ने तथा डाक्टरहरूले आक्रमणकारीलाई कारबाही गर्नुपर्ने मागमा सहमति जुटेन,’ डीएसपी श्रवणकुमारले भने, ‘हामी घटनाको अनुसन्धानमै छौं।’ उनको भनाइले मणिपालको अशान्ति लम्बिने संकेत देखिएको छ। 

डाक्टर उत्तेजित पार्ने प्रहरीको त्यो सनक!

घटनालाई थप उत्तेजित बनाउन प्रहरी पनि कारक रहेको अहिले सामाजिक सञ्जालमा फैलिएको भिडिओले पुष्टि गरेको छ। 

सोमबार प्रहरीले भनेजस्तै डाक्टरलको लापरवाहीका कारण विरामीको मृत्यु भन्दै आफन्तले डाक्टरमाथि हातपात गरे। 

डाक्टरमाथि हातपात भएलगत्तै पीडित पक्ष र मणिपालका डाक्टरहरुबीच झडप भयो। बिरामीका आफन्तले भुइँतलाबाट तेस्रो तलामा ढुंगा, बोतल, हेल्मेट प्रहार गरे भने डाक्टरहरूले पनि दोस्रो तलामा रहेको क्याफेबाट गमला, ढुंगाले बर्साएका थिए।

झडप साम्य पार्न वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी खटाइयो। तेस्रो तलामा प्रहरी र डाक्टरबीच नै धकेलाधकेल भयो। डाक्टरहरू तितरबितर हुन थाले। आन्दोलन भएको थाहा पाएपछि फिस्टेल अस्पतालमा कार्यरत नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्षसमेत रहेका डा.दीनेशकुमार बिक स्थिति बुझ्न त्यहाँ पुगे।

आन्दोलन मत्थर हुँदै थियो।

डाक्टरहरू आ–आफ्नो क्षेत्रतर्फ लाग्दै थिए भने मृतकका आफन्तहरु भुइँतलामै थिए। 

त्यत्तिकैमा त्यहाँ अर्को काण्ड घट्यो। आक्रोशित भीड नियन्त्रण गर्न पुगेका प्रहरीमध्ये जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ आन्दोलित मृतकका आफन्तबीच पुगे।

टाउकोका सुरक्षाका लागि लगाएको हेल्मेल्ट खोले र हातले सबैलाई बस्न इशारा गर्दै भने, ‘मैले साफ चुटेर आको छु (अपशब्द बोल्दै) सबलाई ढुटो बनाएर रगतै–रगत बनाएर आएको छु।’

डा. विकलाई इन्पेक्टर श्रेष्ठले कुटेका हुन्। उनको कुटाइबाट विक सामान्य घाइत भएका छन्। 

‘म घर फर्किनका लागि तेस्रो तलाबाट ओर्लिएर इमरजेन्सीबाट निस्कँदै थिएँ। अचानक मलाई हिर्काउनुभयो र समातेर जिल्लामा (जिल्ला प्रहरी कार्यालय) ल्याउनुभयो। मलाई माथिबाटै नोटिस गर्दै आएका रहेछन्। हाम्रो आन्दोलन सकिएपछि फर्कने क्रममा ममाथि आक्रमण भएको हो,’ उनले भने, ‘हाम्रो तेस्रो तलामा त्योभन्दा अघि प्रहरीसँग घम्साघम्सी भएकै हो। म डाक्टरहरूको संगठनमा भएकाले त्यहाँ पुगेको थिएँ। सबै साम्य भएपछि ममाथि आक्रमण भयो।’

प्रहरीको दुईवटा प्रेस विज्ञप्तिमा देखिएको फरकले पनि डाक्टरको भनाइ पुष्टि गर्छ। आक्रोशित मृतकका आफन्तहरू एकातिर शान्त छैनन् भने प्रहरी नै असहिष्णु देखिएपछि डाक्टरहरु पनि आन्दोलित छन्। जसका कारण मणिपाल अशान्त बनिरहेको छ।

यस्तै घटनाबाट आजित मणिपाल समूहले नेपालबाट लगानी फिर्ता गरेको थियो। अहिले मणिपाल बतास अर्गनाइजेसनअन्तर्गत संचालित छ। बतास अर्गनाइजेसनका अध्यक्ष पोखराकै चर्चित व्यवसायी आनन्दराज बतास हुन्। मणिपाल प्रशासन यो घटनाको सुरक्षित अवतरण गराउने प्रयत्नमै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .