गण्डकी


‘राइड सेयरिङ’ खारिजी माग गर्दै पोखरामा सार्वजनिक सवारीसाधन ठप्प

‘राइड सेयरिङ’ खारिजी माग गर्दै पोखरामा सार्वजनिक सवारीसाधन ठप्प

सार्वजनिक सवारीसाधन सञ्चालन नभएपछि शुक्रबार बिहान सुनसान देखिएको पोखराको सडक।


वाशुदेव मिश्र
जेठ १६, २०८२ शुक्रबार ९:२९, पोखरा

आज शुक्रबार पोखरामा सार्वजनिक सवारीसाधन चलेका छैनन्।

पछिल्लो समय लोकप्रिय इन्ड्राइभ, पठाओलगायत ‘राइड सेयरिङ’लाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको निर्णय खारिजी गर्न माग गर्दै व्यवसायीले सार्वजनिक यातायात बन्द गराएका हुन्।

गण्डकी सरकारले यही वैशाख ३० गते राइड सेयरिङ सञ्चालन र नियमन गर्न बनेको नियमावली पारित गरेको थियो भने जेठ १ गते राजपत्रमा सूचना प्रकाशन गरी राइड सेयरिङलाई वैधानिकता दिएको थियो।

यातायात व्यवसायी भने सुरुदेखि नै राइड सेयरिङको विरुद्धमा थिए।

यातायात व्यवस्था ऐन २०४९ ले रातो अर्थात् निजी सवारीसाधनलाई भाडामा लगाउन नपाइने व्यवस्था रहेको जिकिरसहित व्यवसायीहरूले प्रदेश सरकारले ल्याएको नियमावली नै अवैधानिक भएको बताइरहेका छन्। 

त्यसको खारिजी अभियानको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघले गरेको छ।उसले मजदुर संगठनहरूलाई पनि अभियानमा सामेल गराएको छ।

गण्डकी सरकारले केन्द्रीय कानुनविपरीत चालेको कदमको विरोध तथा सार्वजनिक यातायात क्षेत्रमा गरिएको लगानी सुरक्षा र मजदुरको रोजगारी संरक्षणका लागि शुक्रबारदेखि गण्डकी प्रदेशमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन, ट्याक्सी र ढुवानी सेवा ठप्प पारिएको महासंघका सचिव योगेन्द्र केसीले बताए।

‘निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनले पनि यात्रु ओसारपसार गर्न मिल्दैन। यो कानुनविपरीत छ’, उनले भने, ‘राइड सेयरिङ नियमावली खारिजी नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’

गण्डकी प्रदेशका ११ जिल्लामा गरी झन्डै १५ हजार सार्वजनिक सवारीसाधन सञ्चालनमा छन्।

शुक्रबारदेखि १८ गतेसम्म प्रदेशभर सार्वजनिक यातायात बन्द गर्ने र माग सुनुवाइ नभए जेठ १९ गतेदेखि देशभर नै सार्वजनिक गाडी बन्द गर्ने चेतावनी केसीले दिएका छन्।

त्यसो त गण्डकी सरकारले यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान गरेको छ। तर व्यवसायीले माग पूरा नहुने वार्तामा नजाने भन्दै बहिष्कार गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad