पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको मुख्य क्षेत्र छोडेपछि खहरे आउँछ। फेवाको सिरानतिर लाग्ने सो ठाउँको उत्तरपट्टिकोको सेदी पाखोमा जंगल नै छ। सराङकोट र ग्यारजातीसँग जोडिएको सो क्षेत्रमा बाहिरका मान्छे हतपति पुग्दैनन्।
हो, सेदी पाखोमा रहेको एक पुरानो घरमा सोमबार राति चहलपहल थियो। रात १ बजेपछि जब रंगीविरङ्गी युवायुवतीहरुको उपस्थिति भयो, त्यहाँको माहौल फेरियो। ट्रान्स म्युजिक बज्न थाल्यो। चर्को आवाजसहितको संगीतमा नाच्दै गरेकाहरू मदहोस थिए र तीमध्ये अधिकांशले विभिन्न किसिमका लागुपदार्थ प्रयोग गरिरहेका थियो।
त्यस्तैमा प्रहरी पुग्यो। कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार गोप्य सूचनाको आधारमा लागुऔषध ब्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदामको टोली त्यहाँ पुग्यो।
स्थिति असामान्य देखिन्थ्यो। नेपाली र विदेशी युवायुवती सराबरी रहेको सो पार्टी आफैंमा ‘ट्रान्स’ भएकोमा प्रहरीलाई द्विविधा रहेन। प्रहरीले पार्टीमा सहभागीहरू ३८ जनामध्ये ८ जनाबाट ठूलो परिणाममा लागुऔषध बरामद गर्यो।
डीएसपी बस्नेतका अनुसार बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्मा सो पार्टीका आयोजक थिए। पार्टीमा गोप्य रुपले निम्तो दिइएको थियो र त्यहाँ पुग्नेहरुलाई विभिन्न किसिमका लागुपदार्थ उपलब्ध गराइएको थियो।
उनका अनुसार ८ जनाको साथबाट प्रहरीले सेन्थेटिक लागुपदार्थ एमडीएमए चरेश जस्तो देखिने कालो पदार्थ, कोकिन जस्तो देखीने सेतो धुलो, खात, आइस एम्फेटामाइनजस्तो देखिने पोल्याण्ड, म्याजिक मसरुम,पेपर एलएसडी,लेसर्जिक एससी डाइटीलेमाइड, झोलका विभिन्न खालका लागुपदार्थ बराम गरेको छ।
अन्तर्राष्ट्रिय रुपमा नै ट्रान्स पार्टीहरुमा यस्तैखाले लागुपदार्थको प्रयोग हुनेगर्छ। मनोदिपकखालका यस्ता पदार्थले मान्छेलाई उत्तेजित र एकसुरे बनाउँछ। त्यसमा चर्को आवाजको संगीत थपिएपछि माहौल गर्माउँछ। त्यस्ता पार्टीमा सहभागीहरु उत्तेजनाको क्रममा नग्न वा शारीरिक सम्पर्कको अवस्थासमेत पुग्ने गर्छन्।
कास्की प्रहरीका अनुसार यस्ता पार्टीहरु हप्तादिनसम्म पनि चल्ने गर्छन्। पोखरामा भने विशेष सूचनाको आधारमा पहिलो दिनमै त्यसमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
कास्की प्रहरीका अनुसार पक्राउ परेकामध्ये ८ जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी प्रक्रिया अगाडि बढाइएको छ भने प्रहरीमाथि अभद्र व्यवहार गर्ने ४ जनालाई पनि हिरासतमै राखेर अनुसन्धान भइरहेको छ।
यसरी पक्राउसँगै लागुऔषध अनुसन्धानमा तानिएकाहरुमा ब्राजिलीयन नागरिक ४८ वर्षीय चाल्र्स डी सिल्भा गुभा,भारतीय नागरिक ३१ वर्षीया श्रिष्टा चन्द्रा अनि ३५ वर्षीय अनुभव शर्मा रहेका छन्।
यस्तै पोखरा १८ का २४ वर्षीय आशिष दर्जी,म्याग्दीको मालिका २ घर भइ हाल पोखरा बस्ने ३२ वर्षीय बमेन्द्र पुनलगायत रहेका छन्। बमेन्द्र सो पार्टीका आयोजक पनि हुन्।
Shares

प्रतिक्रिया